झापा, ३० असोज । झापाको अर्जुनधारा नगरपालिका–११ का सात अव्यवस्थित बसोबासी परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
जिल्ला भूमि समस्या समाधान समितिले आवश्यक प्रक्रिया पूरा गरी सात परिवारलाई कुल १ बिघा ४ कट्ठा ५ धुर जग्गाको स्वामित्व प्रमाणपुर्जा वितरण गरेको हो। ती परिवारलाई कुल ८ हजार २२४ वर्गमिटर जग्गाको लालपुर्जा उपलब्ध गराइएको जनाइएको छ।
अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोमदेन तामाङको अध्यक्षतामा आयोजित लालपुर्जा वितरण कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समितिका संयोजक श्रवणकुमार पोखरेल प्रमुख अतिथि रहनुभएको थियो।
प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार जिल्ला भूमि समस्या समाधान समितिमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ६२ हजारभन्दा बढीले जग्गा प्राप्तिका लागि आवेदन दिएका छन्।
उहाँका अनुसार भूमिहीन दलिततर्फ २ हजार ८९३, भूमिहीन सुकुम्बासीतर्फ १५ हजार ७२८ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ६६६ जनाले निवेदन दिएका छन्।
जिल्लाका १५ वटै स्थानीय तहको नेतृत्वमा निवेदनहरूको छानबिन भइरहेको जानकारी दिँदै पोखरेलले प्रचलित कानुनअनुसार जग्गा प्राप्त गर्न योग्य निवेदकलाई समितिको क्षमताअनुसार प्राथमिकताका साथ लालपुर्जा वितरण गरिने बताउनुभयो।
लालपुर्जा प्राप्त गर्नेमा अर्जुनधारा–११ का सुनिता बिक, रेणुका देवी दर्जी, राहन सिंह याखा, सरिता दर्जी, बसन्तकुमार तामाङ, मुशान सुब्बा र रत्नबहादुर इङ्नाम रहेका छन्।
लालपुर्जा वितरणसँगै लामो समयदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका परिवारलाई आफ्नो नाममा जग्गा प्राप्त गर्ने बाटो खुलेको छ।


