बुधबारे, ३० असोज । झापाको बुद्धशान्ति गाउँपालिका–४ का शारीरिक सुगठन खेलाडी पर्शुराम तामाङलाई बुद्धशान्ति गाउँपालिका–१ को वडा कार्यालयले सम्मान गरेको छ ।
वडा अध्यक्ष अनिल वाग्लेले एक कार्यक्रमका बीच सम्मानपत्र प्रदान गर्दै तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हालै सम्पन्न राजभोगत क्लासिक–कोशी प्रदेश शारीरिक सुगठन च्याम्पियनसिपमा ६५ केजी तौल समूहमा तृतीय स्थान हासिल गर्नुभएको थियो ।
त्यसैगरी, तेस्रो मिस्टर कञ्चनजङ्घा राष्ट्रिय खुला पुरुष तथा महिला शारीरिक सुगठन च्याम्पियनसिपमा सोही तौल समूहमा द्वितीय स्थान हासिल गर्नुभएको थियो । स्थानीय खेलाडीले प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै हासिल गरेको उपलब्धिको कदरस्वरूप सम्मान गरिएको वडा अध्यक्ष वाग्लेले बताउनुभयो ।
सम्मान कार्यक्रममा वडा सदस्य लक्ष्मी कँडेल, बुधबारे जेसीजका अध्यक्ष जेसी कुशल अधिकारीलगायतले खेलाडीको सफलताको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
बुद्धशान्ति–१ को वडा कार्यालयमा आयोजित कार्यक्रममा वडा सदस्य मोहनकुमार राई, कर्मचारी झलक परियार, सामाजिक व्यक्तित्व वीरेन्द्र चापागाईं, रामलाल कोइरालालगायतको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरूले स्थानीय प्रतिभाको सम्मान र प्रोत्साहनले नयाँ पुस्तालाई खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए ।
‘प्रतिभाको सम्मान गरौँ, मेहनतको कदर गरौँ र आफ्नै माटोमा जन्मिएका प्रतिभालाई अघि बढ्न हौसला दिऔँ’ भन्ने उद्देश्यसहित खेलाडीलाई सम्मान गरिएको वडा अध्यक्ष वाग्लेले बताउनुभयो । स्थानीय खेलाडीको मेहनत र उपलब्धिको कदर गर्दै गरिएको यस सम्मानले खेलकुदप्रति आकर्षण बढाउनुका साथै नयाँ प्रतिभालाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।


