झापा, ३१ असोज । आज शनिबार देशका कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ।
मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
दिउँसो देशका हिमाली भूभाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यसैगरी, राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
रातिको समयमा तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।


