झापा, ३१ असोज । बडादसैँको सातौँ दिन आज फूलपाती पर्व मनाइँदै छ। यस अवसरमा दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा आराधना गरिँदै छ। साथै, घरघरमा फूलपाती भित्र्याउने तयारी गरिएको छ।
वैदिक परम्पराअनुसार फूलपाती अपराह्नकालमा दसैँघरमा भित्र्याउने विधान छ। फूलपातीका रूपमा प्रयोग गरिने विभिन्न वनस्पति तथा धार्मिक सामग्रीलाई शुभसाइतमा भित्र्याएर स्थापना गर्ने परम्परा छ।
प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। धार्मिक मान्यताअनुसार काललाई समेत नष्ट गर्न सक्ने शक्तिकी प्रतीक देवीलाई कालरात्रि भनिन्छ। कृष्ण वर्ण र भयंकर स्वरूप भएकी यी देवीको वर्णन विभिन्न पुराणमा गरिएको छ।
नवरात्रको पहिलो दिन घटस्थापना गरी दसैँघर वा पूजा कोठामा जौँको जमरा राखेर दुर्गा देवीको आह्वानसहित पूजा आराधना सुरु गरिन्छ। नवरात्रका पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गर्ने परम्परा छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्रको पाठ गर्ने चलन छ। यस अवधिमा देवीको आराधना गरी विधिपूर्वक पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म देवी दुर्गाको विशेष पूजा आराधना गरिने भएकाले यस अवधिलाई दुर्गा पक्ष पनि भनिन्छ। नवरात्रभर पूजा आराधना गरेपछि विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाएर दसैँ मनाउने गरिन्छ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गर्छ। फूलपातीसँगै बडादसैँको उल्लास थप बढ्ने र घरघरमा देवी दुर्गाको आराधना गर्दै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिने गरिन्छ।


