झापा, ३१ असोज । मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित औषधि तथा लागूऔषधसहित नौ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार असोज ३० गते गरिएको कारबाहीका क्रममा मोरङबाट पाँच जना र सुनसरीबाट चार जना पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय बेलबारी, मोरङले बेलबारी नगरपालिका–३ का सागर परियार र रुबिन लावती तथा बेलबारी–२ का विप्लव खवासलाई प्रतिबन्धित औषधिका ६ चक्कीसहित पक्राउ गरेको छ। सोही कार्यालयले २० वर्षीय रिजन राईलाई २० चक्की प्रतिबन्धित औषधिसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
त्यस्तै, प्रहरी चौकी रमाइलोले लेटाङ नगरपालिका–३ का ३३ वर्षीय फिरोजकुमार विकलाई ६ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ।
यसैगरी, सुनसरीको इटहरी उपमहानगरपालिका–१८ का २० वर्षीय निश्चल खुलाल (बुढाथोकी), ३० वर्षीय नजाम हुसेन र २५ वर्षीय मोहम्मद नजामलाई इटहरी–९ स्थित बसपार्कबाट ४२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २७ वर्षीय विप्लव थापालाई ११२ चक्की प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ।
पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


