बिर्तामोड, ३१ असोज । पूर्वेली ढुवानी सेवा प्रालिले असोज महिनाको ‘चालक अफ द मन्थ’ सम्मान फिदिम नगरपालिका–३, पाँचथरका सविन श्रेष्ठलाई प्रदान गरेको छ।
कम्पनीका अध्यक्ष निर्मलराज खत्रीले श्रेष्ठलाई उत्कृष्ट चालक घोषणा गर्दै प्रशंसापत्रसहित नगद ५ हजार १०० रुपैयाँ प्रदान गर्नुभएको हो।
चालकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले असोज महिनादेखि ‘चालक अफ द मन्थ’ कार्यक्रम सुरु गरेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो। उहाँका अनुसार चालकहरूको मनोबल बढाउन सुरु गरिएको यो कार्यक्रम नियमित रूपमा सञ्चालन गरिनेछ।
कम्पनीले चालक तथा सहचालकहरूले संस्थाको उन्नयनमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै वार्षिक रूपमा सम्मान गर्ने व्यवस्था पनि लागू गरेको जनाएको छ। त्यस्तै, चालक तथा सहचालकहरूको हितलाई ध्यानमा राखेर आकस्मिक कोषको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यसअघि कम्पनीले गत असोज १ गते विश्वकर्मा पूजाको अवसरमा चालक तथा यातायात क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरेको थियो। उत्कृष्ट चालकका रूपमा हिलिहाङ गाउँपालिका–२ का नरेश मगरलाई ३१ हजार रुपैयाँ र सोही ठाउँका सुवास प्रसाईलाई २१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो।
त्यस्तै, सहचालकतर्फ हिलिहाङ गाउँपालिका–२ का सुजन हेम्ब्यालाई ५ हजार १०० रुपैयाँ प्रदान गरिएको थियो। यातायात क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै बिर्तामोड–५ का तेजप्रसाद कडरियालाई पनि नगदसहित विशेष सम्मान गरिएको कम्पनीले जनाएको छ।


