चारपाने, ३१ असोज । बडादशैंको अवसरमा झापाको बिर्तामोड नगरपालिका–२ स्थित चारपानेमा भोलि आइतबार भव्य साङ्गीतिक कार्यक्रम हुने भएको छ। जेम्स फिटनेस सेन्टरको आयोजनामा चारपाने चोकमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म कार्यक्रम सञ्चालन हुने भएको हो।
कार्यक्रमको तयारीबारे आयोजकले शनिबार चारपानेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। कार्यक्रममा राष्ट्रियस्तरका चर्चित कलाकारसँगै स्थानीय कलाकारहरूको प्रस्तुति रहने जेम्स फिटनेस सेन्टरका अध्यक्ष तथा सञ्चालक जेम्स उप्रेतीले जानकारी दिए।
उनका अनुसार कार्यक्रममा गायिका जुनु रिजाल, गायक रामचन्द्र काफ्ले तथा टिकटकर एवं डान्सर सिद्धार्थ क्षेत्रीको विशेष प्रस्तुति रहनेछ। यसका साथै स्थानीय कलाकार तथा हास्यव्यङ्ग्य कलाकारहरूले समेत मनोरञ्जन प्रदान गर्नेछन्।
बडादशैंको अवसरमा स्थानीयवासीलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उप्रेतीले बताए। उनले चारपाने चोकमा आयोजना हुने कार्यक्रममा सहभागी भई कार्यक्रमको शोभा बढाइदिन सबैलाई आग्रह गरेका छन्।
आयोजकका अनुसार कार्यक्रम सम्पन्न गर्न करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। कार्यक्रम निःशुल्क तथा खुला रूपमा सञ्चालन गरिने भए पनि सहयोग सङ्कलनका लागि डोनेसन बक्स राखिनेछ।
डोनेसन बक्समा सङ्कलित रकम आर्थिक अवस्था कमजोर भएका २० वर्षमुनिका क्यान्सरपीडित बालबालिका तथा युवाको उपचारमा सहयोग गर्न खर्च गरिने उप्रेतीले जानकारी दिए। मनोरञ्जनसँगै मानवीय सेवाको भावनालाई जोडेर कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाइ छ।
जेम्स फिटनेस सेन्टरले स्थापनाकालदेखि नै विभिन्न सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छ। सेन्टरले खुला तीज मिलन कार्यक्रम, सरसफाइ अभियान, रक्तदान कार्यक्रम तथा लागूऔषधविरुद्धका सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसपटक बडादशैंको अवसरमा आयोजना गर्न लागिएको साङ्गीतिक कार्यक्रमले स्थानीय क्षेत्रमा चाडपर्वको उल्लास थप्नुका साथै सामाजिक सेवाका लागि सहयोग जुटाउनसमेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।


