सुधीर सापकोटा
उमेरको गोरेटोमा अघि बढ्दै जाँदा मनका कुनामा कहिलेकाहीँ डर र आशङ्का उब्जिनु स्वाभाविक हो। ‘अब के होला? शरीरले साथ देला कि नदेला?’ जस्ता प्रश्नले मनलाई घरीघरी झस्काउन सक्छन्। तर, जीवनको यो स्वाभाविक चक्रलाई हामीले कुन दृष्टिकोणबाट हेर्छौँ भन्ने कुराले हाम्रो सोच, आत्मबल र जीवनशैलीमा ठूलो प्रभाव पार्छ।
आफ्नो सोचलाई सकारात्मक बनाउँदै आत्मविश्वास र शारीरिक क्षमताको विकास गर्न सके उमेरसँगै बढ्ने धेरै आशङ्कालाई कम गर्न सकिन्छ। ‘म आफ्नो स्वास्थ्यको ख्याल राख्न सक्छु, सक्रिय रहन सक्छु र जीवनका चुनौती सामना गर्न सक्छु’ भन्ने आत्मविश्वासले मनलाई बलियो बनाउँछ। उमेर बढ्दैमा जीवनप्रतिको उत्साह घट्नुपर्छ भन्ने छैन। न त शरीरमा आउने परिवर्तनसँग अनावश्यक डर मान्नुपर्छ।
सबैभन्दा महत्त्वपूर्ण कुरा हो—शरीरलाई सही तरिकाले श्रम गर्न सिकाउनु। यहाँ शरीरलाई ‘दुःख दिनु’ भन्नुको अर्थ यातना दिनु होइन, बरु नियमित शारीरिक गतिविधिमा संलग्न गराउनु, पसिना बगाउन प्रेरित गर्नु र सहजताको घेराबाट बाहिर निस्केर सक्रिय जीवन बिताउनु हो। हिँडडुल, व्यायाम, योग र आफ्नो क्षमताअनुसारको शारीरिक श्रमले शरीरलाई चुस्त राख्न मद्दत गर्छ। क्रमशः सक्रियता बढाउँदै जाँदा शरीरको सहनशीलता र कार्यक्षमता पनि सुधारिन सक्छ।
शरीरलाई अत्यधिक आराममा राख्नु र शारीरिक गतिविधिबाट टाढा रहनुले बिस्तारै मांसपेशी कमजोर बनाउने, सहनशीलता घटाउने र दैनिक कामसमेत कठिन बनाउने जोखिम हुन्छ। त्यसैले शरीरलाई माया गर्नु भनेको यसलाई सधैँ आराममा राख्नु मात्र होइन, आवश्यक व्यायाम, पर्याप्त आराम र सन्तुलित आहारको उचित तालमेल मिलाउनु पनि हो।
नियमित शारीरिक श्रम र अनुशासित जीवनशैलीले शरीरसँगै मनलाई पनि बलियो बनाउन मद्दत गर्छ। यद्यपि, शरीरलाई सक्रिय बनाउने नाममा आफ्नो क्षमताभन्दा बढी कसरत गर्नु वा पीडा सहेर जबर्जस्ती व्यायाम गर्नु उचित हुँदैन। उमेर, स्वास्थ्य अवस्था र शारीरिक क्षमताअनुसार गतिविधि छनोट गर्नु आवश्यक छ। शरीरले दिएका सङ्केतलाई बुझ्नु र आवश्यकताअनुसार विश्राम लिनु पनि स्वस्थ जीवनशैलीकै हिस्सा हो।
अन्ततः, उमेर जीवनको एउटा स्वाभाविक मापन हो, हाम्रो क्षमता र सम्भावनाको अन्तिम सीमा होइन। उमेर बढ्दै जाँदा शरीरमा परिवर्तन आउन सक्छन्, तर नियमित अभ्यास, सकारात्मक सोच र आत्मअनुशासनले जीवनलाई सक्रिय, सहज र अर्थपूर्ण बनाउन सकिन्छ।
त्यसैले, उमेरसँग डराएर होइन, शरीरलाई बुझेर अघि बढौँ। शरीरलाई निष्क्रिय होइन, चलायमान बनाऔँ। मनमा आत्मविश्वास जगाऔँ र स्वास्थ्यप्रति सचेत रहौँ। जीवनको हरेक मोडमा आउने चुनौतीलाई स्वीकार गर्दै अघि बढ्न सके उमेरको यात्रा पनि अझ स्वस्थ, सुखद् र उत्साहपूर्ण बन्न सक्छ।
बिर्तामोड–५


