झापा, २ कात्तिक । झापाको भद्रपुरमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४४ वर्षीय मनकुमार लिम्बू रहेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार असोज २ गते साँझ करिब ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले हल्दिबारी गाउँपालिका–५ घर भई हाल भद्रपुर नगरपालिका–६ स्थित साजन होटल (खाजा नास्ता) सञ्चालन गर्दै आएका लिम्बूलाई पक्राउ गरेको हो।
हातहतियार लुकाइछिपाइ राखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले होटलमा खानतलासी गरेको थियो। सो क्रममा लिम्बू सुत्ने बेडमुनि लुकाइछिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ।
पेस्तोल बरामद भएपछि प्रहरीले लिम्बूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।


