झापा, ३ कात्तिक । साहित्यकार तथा नेपाल सरकारका उपसचिव तोमनाथ उप्रेतीको समालोचना कृति ‘अक्षरभित्र चिन्तन’ र पूर्वीय दर्शनका चिन्तक तथा साहित्यकार भीमेन्द्रबहादुर कार्कीको कवितासङ्ग्रह ‘श्याम वेद–२’ विराटनगरमा लोकार्पण गरिएको छ।
विराट साहित्य सङ्गमको नियमित मासिक साहित्यिक भेटघाट कार्यक्रमका अवसरमा शनिबार विराटनगरस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सभाहलमा आयोजित समारोहमा दुवै कृति लोकार्पण गरिएको हो।
विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष तथा प्राज्ञ विवश पोखरेलले दुवै कृतिको लोकार्पण गरेका थिए। कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारीसहित साहित्यकार, कवि, स्रष्टा, चिन्तक तथा बौद्धिक व्यक्तित्वहरूको उपस्थिति थियो।
लोकार्पित कृति ‘अक्षरभित्र चिन्तन’ माथि साहित्यकार निर्मला कोइरालाले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेकी थिइन्। उनले कृतिको अन्तर्वस्तु, वैचारिक पक्ष तथा साहित्यिक महत्त्वबारे चर्चा गर्दै समालोचनाले साहित्यिक सिर्जनाको मूल्याङ्कन, विचारको विश्लेषण र पाठकीय चेतना विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।
त्यसैगरी, कार्कीद्वारा लिखित ‘श्याम वेद–२’ ले पूर्वीय दर्शन र कविताबीचको वैचारिक सम्बन्धलाई उजागर गरेको छ। दुवै कृतिको प्रकाशन तथा लोकार्पणले नेपाली साहित्यमा सिर्जना, चिन्तन र समालोचनाको अभ्यासलाई थप समृद्ध बनाउने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो।
विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष जीवन काफ्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। साहित्यकार गोपाल निर्भीकले सञ्चालन गरेको कार्यक्रममा विभिन्न कविहरूले कविता वाचनसमेत गरेका थिए।
कार्यक्रममा साहित्यिक कृतिको प्रकाशन, अध्ययन, समीक्षा र सार्वजनिक विमर्शले नेपाली साहित्यको विकासमा पुर्याउने योगदानबारे चर्चा गरिएको थियो। यस्ता साहित्यिक भेटघाटले स्रष्टाहरूबीच विचार आदानप्रदान, नयाँ कृतिको परिचय र साहित्यिक सहकार्यका लागि अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
कृति ‘अक्षरभित्र चिन्तन’ का लेखक उप्रेतीले लोकार्पण समारोहमा सहभागी प्रमुख अतिथि, विशिष्ट अतिथि, समीक्षक, आयोजक, साहित्यकार तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। उनले साहित्यलाई अक्षरको संयोजनमा मात्र सीमित नराखी विचार, अनुभूति, संवेदना र जीवनदृष्टिको साझा यात्राका रूपमा व्याख्या गर्दै आगामी दिनमा पनि जिम्मेवार र सिर्जनशील साहित्यिक कर्ममा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
विराट साहित्य सङ्गमले नियमित रूपमा आयोजना गर्दै आएको मासिक साहित्यिक भेटघाट कार्यक्रमले स्थानीय साहित्यिक गतिविधिलाई प्रवर्द्धन गर्नुका साथै स्रष्टा र पाठकबीचको सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याउँदै आएको छ।


