झापा, ३ कात्तिक । बडादसैँअन्तर्गत आज महानवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। नवरात्रको नवौँ दिन आज दुर्गा भवानीको नवौँ स्वरूप माता सिद्धिदात्री तथा महालक्ष्मी देवीको विशेष पूजाआराधना गरिन्छ।
महानवमीका अवसरमा दसैँघर, कोत तथा विभिन्न शक्तिपीठमा विधिपूर्वक पूजा गरी बोका, हाँस, कुखुरा र राँगालगायतको बलि दिने परम्परा छ। यस दिन कलपूर्जा, हातहतियार, मेसिनरी सामान तथा विभिन्न सवारीसाधनको समेत पूजा गर्ने चलन छ।

शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलको बलि दिने तथा पायस (खिर) चढाएर पूजा गर्ने गर्छन्।
यसैबीच, महानवमीका अवसरमा काठमाडौँको हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारण भक्तजनका लागि खुला गरिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित यो मन्दिर प्रत्येक वर्ष महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गर्ने परम्परा छ।
दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार भक्तजनले बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म तलेजु भवानीको दर्शन, पूजाआराधना गर्न सक्नेछन्। महानवमीका दिन मन्दिर खुला गरिएसँगै हजारौँ भक्तजन दर्शनका लागि पुग्ने गर्छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार गत असोज ३१ गते शनिबार बिहान ७ः३७ बजे तुलजा भवानीलाई हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको थियो। सोही दिन बिहान १०ः३९ बजे तुलजा भवानीलाई स्थिरासनमा राखिएको थियो।
तलेजु भवानीलाई मूलचोकमा राखेर महाअष्टमीको राति कालरात्रि पूजा गर्ने परम्परा छ। कालरात्रि पूजाका अवसरमा ५४ बोका र ५४ राँगाको बलिसहित आराधना गरिने दरबार हेरचाह अड्डाले जनाएको छ।
विजयादशमीसम्म तलेजु भवानीलाई मूलचोकमै राखेर पूजाआराधना गरिन्छ। कात्तिक ४ गते बुधबार विजयादशमीका दिन समितिले निर्धारण गरेको साइतअनुसार बिहान १०ः५१ बजे तलेजु भवानीको यात्रा गराइनेछ भने बिहान ११ः५२ बजे मूल मन्दिरमा स्थिरासन गराइनेछ।
महानवमीलाई शक्ति, श्रद्धा र धार्मिक आस्थाको प्रतीकका रूपमा मनाउने गरिन्छ। यस दिन गरिने दुर्गा भवानीको पूजाआराधना तथा हातहतियार र औजारको पूजाले बडादसैँको धार्मिक र सांस्कृतिक महत्त्वलाई थप उजागर गर्छ।



