झापा, ३ कात्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले देशका केही हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदली रहने सम्भावना छ।
देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा तराईका अधिकांश क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
सम्भावित वर्षा, चट्याङ तथा हिमपातलाई ध्यानमा राख्दै महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।


