झापा, ३ कात्तिक । चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि, दुर्घटना तथा विपद्का घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाले सुरक्षा व्यवस्थापनलाई सक्रिय बनाएको छ।
सशस्त्र प्रहरीले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ अनुसार सीमावर्ती क्षेत्रसहित जिल्लाका विभिन्न स्थानमा स्रोतसाधन र प्रविधिसहितको सुरक्षा टोली परिचालन गरेको हो।
चाडपर्वका समयमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मेला, महोत्सव तथा धार्मिक र सांस्कृतिक स्थलमा ड्रोन पेट्रोलमार्फत सूचना सङ्कलन तथा निगरानीको व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टका अनुसार नेपाली नागरिक तथा नेपाल प्रवेश गर्ने पर्यटकलाई सुरक्षित र सहज आवागमनको व्यवस्था गर्न तथा विपद्मा परेका व्यक्तिको उद्धारमा सहयोग पुर्याउन जिल्लाका सातवटा सीमा नाकामा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।
काँकडभिट्टा सीमा नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागुऔषध पहिचान गर्न तालिमप्राप्त स्निफिङ डग (के–९ टोली) समेत परिचालन गरिएको छ।
चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि तथा विपद्का जोखिम न्यूनीकरण गर्न सचेतनामूलक माइकिङ र सीमावासीसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी नागरिकलाई नियमित रूपमा जानकारी गराउने काम भइरहेको विष्टले बताए।
त्यसैगरी, झापा जिल्लाका मुख्य तथा सहायक राजमार्गमा हुन सक्ने दुर्घटना र अन्य घटनाको जोखिम न्यूनीकरण तथा तत्काल उद्धारका लागि तीन स्थानमा एम्बुलेन्ससहितको आकस्मिक उद्धार टोली परिचालन गरिएको छ।
गोप्रो क्यामेरासहित परिचालित बोर्डर इन्टरएक्सन टिम (बीआईटी) ले सीमा क्षेत्रमा आवतजावत गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहजीकरण गरिरहेको छ। उक्त टोलीले मानव बेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागुऔषध, वन्यजन्तु र अन्य अवैध सामग्रीको निगरानी, नियन्त्रण तथा जाँचमा समेत काम गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ।
चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत झापामा दैनिक २० स्थानमा चेकपोइन्ट, १६ स्थानमा पैदल तथा मोबाइल गस्ती र पाँच स्थानमा पिकेट परिचालन गरिएको छ। त्यस्तै, तीनवटा क्विक रेस्पोन्स टिम (क्यूआरटी) तथा एम्बुलेन्ससहितका तीनवटा विपद् उद्धार टोली तयारी अवस्थामा राखिएका छन्।
आपत्कालीन अवस्था वा विपद्मा परेका नागरिकले सहयोगका लागि सशस्त्र प्रहरी बल, नेपालको टोल फ्री नम्बर १११४ वा सीमा हटलाइन नम्बर ९८५१२६०७३० मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको सूचना अधिकारी विष्टले जानकारी दिए।
चाडपर्वका समयमा नागरिकको सुरक्षा, सहज आवागमन र सम्भावित जोखिम न्यूनीकरणलाई प्राथमिकता दिँदै सुरक्षा परिचालनलाई प्रभावकारी बनाइएको सशस्त्र प्रहरीले जनाएको छ।


