झापा, ३ कात्तिक । बितेका २४ घण्टामा देशभर भएका विपद्का घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। विपद्का कारण करिब १८ लाख दुई हजार ५०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा आगलागीका १५, सर्पदंशका पाँच र जनावरको आक्रमणको एउटा घटनासहित विभिन्न विपद्का घटना भएका छन्। क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको प्राधिकरणले जनाएको छ।
यसैबीच, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन (मापसे) तथा लागुऔषध सेवन गरी सवारी चलाउने चालकविरुद्ध कारबाही तीव्र बनाएको छ।
कार्यालयका अनुसार गत असोज २५ गतेदेखि आजसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७७ जना र लागुऔषध सेवन गरी सवारी चलाउने २६ जना चालक कारबाहीमा परेका छन्।
उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले चालकलाई सचेत रहन र सडक सुरक्षा नियमको पालना गर्न आग्रह गरेको छ।


