झापा, ४ कात्तिक । बडादसैँ अर्थात् विजयादशमीको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी नेपालीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज टीका ग्रहणका लागि बिहान १० बजेर २६ मिनेटको समय उत्तम साइत रहेको छ। यद्यपि विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन छुट्टै साइत खोज्न आवश्यक नरहेको समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले बताएका छन्। राज्य सञ्चालकका लागि भने शास्त्रीय मान्यताअनुसार साइत निर्धारण गरिएको उनले बताए।

समितिले घटस्थापनाका दिन स्थापना गरिएको घडामा आह्वान गरिएका देवीलाई विसर्जन गर्ने साइत बिहान ८ बजेर ४९ मिनेट निर्धारण गरेको छ। वैदिक विधिअनुसार स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी मान्यजनको हातबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्ने परम्परा छ।
टीका लगाउँदा कुन दिशातर्फ फर्कने?
धर्मशास्त्रविद् एवं समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार आज चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्कनुपर्छ भने टीका लगाइदिने व्यक्ति पूर्व फर्कनुपर्छ। चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने धार्मिक मान्यताका आधारमा यस्तो दिशा निर्धारण गरिएको उनले बताए।
जमरा र टीकाको धार्मिक महत्त्व
घटस्थापनाका दिन विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धि र शुभताको प्रतीक मानिन्छ। विजयादशमीका दिन गुरु, पुरोहित, हजुरबा–हजुरआमा, बुबाआमा तथा अन्य मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै दीर्घायु, सुख, शान्ति, समृद्धि र सफलताको आशीर्वाद लिने चलन छ।
धार्मिक विश्वासअनुसार त्रेतायुगमा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा विजयादशमी मनाउन थालिएको हो। त्यसैले यस पर्वलाई विजय, सदाचार र सकारात्मक शक्तिको प्रतीकका रूपमा लिने गरिन्छ।
टीका लगाउँदा पुरुषलाई दीर्घायु, ऐश्वर्य, वीरता, बल, दानशीलता, ज्ञान र कीर्तिको कामना गर्दै संस्कृत मन्त्रबाट आशीर्वाद दिने परम्परा छ। महिलालाई भने दुर्गा भवानीका विभिन्न स्वरूपको स्तुति गर्दै सुख, शान्ति र कल्याणको कामना गरिन्छ।
कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा
आजदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ। विजयादशमीका दिन टीका लगाउन नभ्याउनेले पनि परम्पराअनुसार कोजाग्रत पूर्णिमासम्म टीका ग्रहण गर्न सक्छन्।
नेपालका विभिन्न समुदायमा टीका लगाउने परम्परामा विविधता पाइन्छ। अधिकांश समुदायले रातो टीका र जमरा लगाउने गरे पनि केही जाति तथा समुदायमा कुल परम्पराअनुसार दही र अक्षता मिसाइएको सेतो टीका लगाउने चलनसमेत रहेको छ।
यसरी विजयादशमीले परिवार, आफन्त र मान्यजनबीच आत्मीयता बढाउनुका साथै नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक विविधता र पारिवारिक एकतालाई थप मजबुत बनाउँदै आएको छ।



