बिर्तामोड, ४ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिर्तामोड नगर कमिटीले दसैँको अवसरमा २४ विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ।
रास्वपा बिर्तामोड नगर सचिव सृजन अधिकारीको नेतृत्वमा बिर्तामोड नगरपालिका–३, ४ र ९ का विभिन्न २४ घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको हो।

चाडपर्वका बेला आर्थिक रूपमा विपन्न परिवारलाई राहत पुर्याउने उद्देश्यले सञ्चालन गरिएको अभियान पार्टीका सक्रिय सदस्य तथा शुभेच्छुकहरूबाट स्वस्फूर्त रूपमा संकलित आर्थिक सहयोगमार्फत सम्पन्न गरिएको जनाइएको छ।
रास्वपा बिर्तामोड नगर सभापति दीपक दाहालले सामाजिक तथा मानवीय सेवामूलक अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।
अभियान सफल बनाउन प्रवास थापा मगर, दीपक दाहाल, माधव झा, रमेशकुमार बनियाँ, टीकाराम उप्रेती, लक्ष्मी खरेल, दीपक नेपाल, राजन खत्री, जिशा तामाङ, रमेश पाठक, सञ्जय नेपाल, करण घिमिरे, लीलाराज प्रसाईँ र सृजन अधिकारीलगायतले सहयोग पुर्याउनुभएको थियो।
दसैँका बेला विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्ने अभियानले आवश्यकतामा रहेका परिवारलाई राहत पुर्याउनुका साथै सामाजिक सद्भाव र मानवीय सेवाको भावनालाई प्रवर्द्धन गर्ने विश्वास रास्वपा बिर्तामोड नगर कमिटीले व्यक्त गरेको छ।



