झापा,५ कात्तिक । बडादसैँअन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ।
विजयादशमीका दिन आफ्नै घरपरिवारका सदस्यसँग टीका–जमरा लगाएकाहरू आज दोस्रो दिन टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने गर्दछन्। मान्यजन टाढा रहेका व्यक्तिहरू आजदेखि कोजाग्रत पूर्णिमासम्म नै आफन्तकहाँ पुगेर टीका तथा जमरा लगाउने परम्परा छ।

नेपालका कतिपय स्थानमा विजयादशमीको दिन मात्र टीका लगाउने चलन रहे पनि अधिकांश स्थानमा भने विजयादशमीदेखि सुरु भएको टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म निरन्तर चल्ने गर्दछ।
नवदुर्गा भवानीको प्रसादका रूपमा ग्रहण गरिने दसैँको टीका र जमरा कोजाग्रत पूर्णिमासम्म लगाएर मान्यजनबाट आशीर्वाद लिन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
दसैँलाई पारिवारिक पुनर्मिलन, आपसी सद्भाव र आत्मीयता साटासाट गर्ने पर्वका रूपमा पनि लिइन्छ। यस अवसरमा आफन्त तथा मान्यजनसँग भेटघाट गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित आशीर्वाद लिने परम्परा रहिआएको छ।



