बिर्तामोड,५ कार्तिक । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। आगलागीबाट क्यान्टिनमा रहेका सामान जलेर नष्ट हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाअन्तर्गत इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार २०८३ साल कात्तिक ५ गते बिहान करिब ४ः१० बजे रामचोकस्थित ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित बडी ग्यारेजको क्यान्टिनमा आगलागी भएको हो। उक्त ग्यारेज बिर्तामोड नगरपालिका–४ निवासी रवि राजवंशीले सञ्चालन गर्दै आएका थिए।

विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ। प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा बिहान ४ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।
आगलागीबारे थप अनुसन्धान गर्ने क्रममा ग्यारेजभित्र सञ्चालित क्यान्टिनमा काम गर्ने गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङको जलेर मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ।
आगलागीबाट क्यान्टिनभित्र रहेका भाँडाकुँडा, लत्ताकपडा, तीन थान खसीबाख्रा तथा नगद एक लाख रुपैयाँ जलेर नष्ट भएका छन्। उक्त घटनाबाट क्यान्टिनमा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
त्यस्तै, बडी ग्यारेजसँगै जोडिएको राजेन्द्र अग्रवालले सञ्चालन गरेको मार्बल तथा टायल्सको गोदाममा समेत आगोको सामान्य असर परेको थियो। दमकलबाट आगो निभाउने क्रममा गोदामभित्र रहेका करिब २० देखि २५ बोरा सिमेन्ट भिजेर नष्ट हुँदा थप करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
घटनामा भएको अन्य क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।



