धरान, ६ असोज । बडादसैँलाई लक्षित गरी सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारबाट यस वर्ष २६ करोड २५ लाख रुपैयाँ बराबरको खसीबोका कारोबार भएको छ।
कोशी प्रदेशका पहाडी जिल्लाबाट किसान तथा व्यापारीले बिक्रीका लागि खसीबोका ल्याउने क्रम बढेसँगै गत वर्षको तुलनामा यस वर्ष कारोबार करिब १५ प्रतिशतले वृद्धि भएको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए।

गत वर्ष २०८२ को दसैँमा उक्त बजारबाट २३ करोड रुपैयाँ बराबरको खसीबोका कारोबार भएको थियो। दसैँका बेला मासुको खपत बढ्ने भएकाले धरानको खसीबोका बजारमा हरेक वर्ष कारोबार बढ्दै गएको व्यवस्थापक भट्टराईले बताए।
धरान कृषि उपज बजारमा कोशी प्रदेशका पहाडी जिल्लाका साथै तराईका विभिन्न क्षेत्रबाट किसान तथा व्यापारी खसीबोका खरिदबिक्रीका लागि आउने गरेका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर र तेह्रथुमलगायत पहाडी जिल्लाबाट ठूलो सङ्ख्यामा खसीबोका यहाँ ल्याइने गरिएको छ।
त्यसैगरी, इटहरी, मोरङको कानेपोखरी र बेलबारीलगायत तराईका विभिन्न स्थानबाट पनि किसान तथा व्यापारी खसीबोका बिक्री तथा खरिदका लागि धरान आउने गरेका छन्।
कृषि उपज बजारमा दैनिक उपभोग्य वस्तुको कारोबारसँगै खसीबोकाको किनबेचसमेत हुँदै आएको छ। विशेषगरी हरेक हप्ताको बिहीबार र शुक्रबार खसीबोकाको बजार लाग्ने भएकाले ती दिन किसान तथा व्यापारीको उल्लेख्य उपस्थिति रहने गरेको बजार व्यवस्थापनले जनाएको छ।
दसैँमा मासुको माग बढ्ने र पहाडी जिल्लाबाट खसीबोका आपूर्ति हुने भएकाले धरानको कृषि उपज बजार पूर्वी नेपालको प्रमुख खसीबोका खरिदबिक्री केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।



