झापा, ७ कार्तिक । बडादसैँअन्तर्गत टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी रहेको छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएका वा छुटेकाहरू आफन्त तथा परिवारजनकहाँ पुगेर टीका लगाउने र आशीर्वाद लिने गरिरहेका छन्।
नेपाली परम्पराअनुसार विजयादशमीका दिनदेखि सुरु हुने टीका र जमरा लगाउने क्रम आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। यस अवधिमा आफन्त तथा परिवारजनसँग भेटघाट गर्ने, टीका लगाउने र ठूलाबडाबाट आशीर्वाद लिने परम्परा रहिआएको छ।

लामो समयदेखि भेटघाट हुन नसकेका आफन्त तथा परिवारजनसँग पुनर्मिलन हुने अवसरका रूपमा पनि दसैँलाई लिने गरिन्छ। यस पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउनुका साथै आपसी सद्भाव, विश्वास र भाइचारालाई प्रगाढ बनाउने विश्वास गरिन्छ।
मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद ग्रहण गर्न जाने तथा आफन्तसँग भेटघाट गर्नेहरूको चहलपहल बढेसँगै सडक र सहर बजारमा सर्वसाधारणको आवागमन पनि बढेको छ। दसैँको उल्लाससँगै परिवार र आफन्तबीच खुसी साटासाट गर्ने क्रम जारी रहेको छ।



