झापा, ८ कात्तिक । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भएको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
राति तथा बिहानपख तराईका भूभाग, उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार सोमबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। सोमबार कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।



