झापा, ८ कात्तिक । नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन आज धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बसेर कोजाग्रत पूर्णिमा मनाइँदैछ।
१५ दिन लामो बडादसैँ पर्वको अन्तिम दिनका रूपमा रहेको कोजाग्रत पूर्णिमामा महालक्ष्मीको पूजा गरी जाग्राम बस्ने धार्मिक परम्परा छ। यससँगै विजयादशमीदेखि सुरु भएको मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम पनि समाप्त हुन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्तिको काम पनि आजै सम्पन्न हुन्छ। आजै दसैँमा लगाइएको जमरा नजिकैको नदी, तलाउ, पोखरी वा अन्य पवित्र तीर्थस्थलमा लगेर विसर्जन गरिन्छ।
धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमाको साँझ महालक्ष्मीको पूजा–आराधना गरी रातभर जाग्राम बस्ने व्यक्तिको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्छिन्। यही विश्वासका आधारमा कोजाग्रत पूर्णिमा मनाउने परम्परा रहेको समितिका अध्यक्ष सहप्राध्यापक डा। पुरुषोत्तम भट्टराईले बताएका छन्।
माता दुर्गाका तीन प्रमुख रूपमध्ये एक महालक्ष्मीको पूजा गरी दुर्गा पक्षलाई बिदाइ गरिन्छ। नवरात्र र विजयादशमीको मुख्य धार्मिक अनुष्ठान विजयादशमीकै दिन सम्पन्न भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमासँगै समाप्त हुने धार्मिक मान्यता छ।
लक्ष्मीपूजाभन्दा १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले पनि कोजाग्रत पूर्णिमाको विशेष महत्त्व रहेको बताइन्छ। यस पूर्णिमालाई ‘कौमुदी पूर्णिमा’ पनि भनिन्छ। परम्पराअनुसार आज राति जुवा खेल्ने चलनसमेत रहेको समितिका अध्यक्ष भट्टराईले बताएका छन्।
कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पनि पूजा गर्ने धार्मिक विधान छ। यसैबीच, समितिबाट स्वीकृत पात्रोअनुसार कार्तिक स्नान र तुलसीको विशेष पूजा–आराधना आगामी कात्तिक ९ गते सोमबारदेखि सुरु हुनेछ। आकाशदीपदान पनि सोही दिनको साँझदेखि सुरु गरिनेछ।



