झापा, ९ कात्तिक । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुका साथै सुरक्षा सतर्कता बढाएको छ।
दसैँको टीका, जमरा, पारिवारिक भेटघाट तथा चाडपर्वको उल्लासमा सर्वसाधारण व्यस्त रहेका बेला सशस्त्र प्रहरी कर्मचारीहरू भने नागरिकको जीउधनको सुरक्षालाई प्राथमिकतामा राख्दै हात्ती प्रभावित क्षेत्रमा खटिएका छन्।

चाडपर्वका समयमा मानिसको चहलपहल बढ्ने तथा बिहान, बेलुका र रातिको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले गाउँगाउँमा पुगेर माइकिङमार्फत नागरिकलाई सचेत गराइरहेको छ। प्रहरीले अत्यावश्यक कामबाहेक अँध्यारो समयमा घरबाहिर ननिस्कन र सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
पाकेको धानबाली जोगाउने चिन्तासँगै जङ्गली हात्तीको जोखिम सामना गरिरहेका झापावासीलाई हात्तीसँग जम्काभेट भएमा नआत्तिन, हात्तीलाई जिस्क्याउने वा लखेट्ने प्रयास नगर्न तथा सुरक्षित स्थानतर्फ जान प्रहरीले अनुरोध गरेको छ। गाउँमा रहेका बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष ख्याल राख्न र उनीहरूलाई घरबाहिर एक्लै हिँडडुल गर्न नदिनसमेत आग्रह गरिएको छ।
हात्तीको आवतजावत र सम्भावित जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा मोबाइल तथा पैदल गस्ती टोली परिचालन गरी निरन्तर निगरानी भइरहेको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुजित विष्टले जानकारी दिए।
उनका अनुसार हात्तीबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सुरक्षा निगरानीसँगै स्थानीय बासिन्दालाई सचेत गराउने कार्यलाई निरन्तरता दिइएको छ।
सशस्त्र प्रहरीले घर, गोठ तथा आँगन वरिपरि हात्तीले मन पराउने खानेकुरा नराख्न, सम्भव भएसम्म हात्तीलाई आकर्षित गर्ने वनस्पति घरनजिक नरोप्न, रातिको समयमा घर आसपास उज्यालोको व्यवस्था गर्न तथा बाक्लो झाडी सफा राख्नसमेत अनुरोध गरेको छ।
हात्ती प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीले उपलब्ध स्रोतसाधन परिचालन गर्दै स्थानीय प्रशासन, सम्बन्धित निकाय तथा सर्वसाधारणसँग समन्वय र सहकार्य गरिरहेको जनाएको छ। हात्तीको निगरानी, सूचना आदानप्रदान तथा जनचेतनामूलक गतिविधिलाई प्रभावकारी बनाउने काम भइरहेको गणले जनाएको छ।
सशस्त्र प्रहरीले जङ्गली हात्ती गाउँमा प्रवेश गरेको देखिएमा वा कुनै समस्या परेमा तत्काल सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाको सम्पर्क नम्बर ९८५१२७२१२५ मा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।



