झापा, १२ कात्तिक । झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालयले सुरक्षा कार्ययोजनाको पुनरावलोकन सुरु गरेको छ।
गत कात्तिक ३ गते जङ्गली हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२, जनता चोककी ७० वर्षीया लजुमा खातुनको मृत्यु भएपछि प्रशासनले कार्ययोजनाको प्रभावकारिता समीक्षा गर्न थालेको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलको अग्रसरतामा बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवाला निकायका पदाधिकारीबीचको छलफलमा हालसम्म भएका प्रयास, तिनको प्रभावकारिता र आगामी रणनीतिबारे समीक्षा गरिएको थियो।
छलफलमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नेपाल रेडक्रस सोसाइटी झापाका प्रतिनिधि तथा डिभिजन वन कार्यालयका अधिकृत सहभागी थिए। डिभिजन वन कार्यालयका तर्फबाट वन अधिकृत हिमाल पाठकले जिल्लामा मानव–हात्ती द्वन्द्वको पछिल्लो अवस्था र त्यसको न्यूनीकरणका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए।
प्रमुख जिल्ला अधिकारी पोखरेलले मानव र वन्यजन्तु दुवैको अस्तित्व संरक्षण गर्दै मानवीय तथा भौतिक क्षति कम गर्न सावधानीका उपायलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए। उनले हालको कार्ययोजना र सरोकारवाला निकायको भूमिकाको समीक्षा गरी प्राप्त सुझावका आधारमा रणनीति परिमार्जन गरिने बताए।
उनका अनुसार पहिलो चरणमा सरकारी निकाय र सुरक्षा संयन्त्रसँग समीक्षा गरिएको छ। दोस्रो चरणमा स्थानीय तह, जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूह, स्थानीय समुदाय, सामाजिक संस्था, नागरिक समाज तथा सञ्चारकर्मीसँग छलफल गरिनेछ। सबै पक्षका सुझाव समेटेर कार्ययोजनालाई थप प्रभावकारी र नतिजामुखी बनाउने प्रशासनको तयारी छ।
२० वर्षमा हात्तीको आक्रमणबाट ८० जनाको मृत्यु
डिभिजन वन कार्यालयको तथ्याङ्कअनुसार झापामा पछिल्लो २० वर्षमा हात्तीको आक्रमणबाट ७० जना नेपाली र १० जना विदेशी नागरिक गरी ८० जनाको मृत्यु भएको छ। सोही अवधिमा २८ वटा हात्तीको पनि मृत्यु भएको छ।
जिल्लामा वन क्षेत्र, नदी करिडोर, कृषि क्षेत्र र मानव बस्ती हात्तीको विचरण क्षेत्रसँग जोडिएकाले मानव–हात्ती द्वन्द्व न्यूनीकरण चुनौतीपूर्ण बन्दै आएको छ।
द्वन्द्व न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने, सामुदायिक वनका हेरालुलाई सक्रिय बनाउने तथा साइरनलगायतका उपकरण दुरुस्त राख्ने विषयलाई प्राथमिकता दिइएको छ।
त्यसैगरी, वन क्षेत्रमा हात्तीका लागि आहारा र पानीका स्रोतको संरक्षण, जैविक मार्गको व्यवस्थापन तथा सौर्य विद्युतीय तारबारको मर्मतसम्भारलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइएको छ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न सुरक्षा निकाय, वन कार्यालय, स्थानीय तह र समुदायबीच समन्वय बढाउनुका साथै जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना र सावधानीका उपाय प्रभावकारी बनाउन आवश्यक देखिएको छ।



