झापा, १३ कात्तिक । नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले नागरिकका समस्या सम्बोधन गर्न र पार्टीलाई जिम्मेवार ढङ्गले अघि बढाउन अभियान सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको हो ।

सभापति थापाले कांग्रेसलाई देशका राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक समस्या समाधान गर्न तयार पार्टीका रूपमा नागरिकमाझ प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।
“महाधिवेशनमा भएका समीक्षा र आत्मालोचनाको चरण पूरा भएकाले अब परिणाममुखी काममा केन्द्रित हुनुपर्नेछ”, उहाँले भन्नुभयो ।
उहाँले महाधिवेशनबाट पारित नीतिगत तथा साङ्गठनिक प्रस्तावलाई दस्तावेजीकरण गरी केन्द्रीय कार्यालयमार्फत पार्टीको तल्लो तहसम्म पुर्याइने जानकारी दिनुभयो ।
महाधिवेशनबाट पारित प्रस्तावलाई पूर्णता दिन आवश्यक सुझाव, संशोधन तथा थप विषय केन्द्रीय कार्यालयमा उपलब्ध गराउन पनि सभापति थापाले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
‘तयार छौँ’ अभियानमार्फत कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम कार्यान्वयन गर्दै नागरिकका समस्या समाधानमा केन्द्रित हुने लक्ष्य लिएको छ ।



