झापा, १६ कात्तिक। नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशभरको मौसम आंशिक बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दार्चुला, बझाङ र हुम्लाका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।
आज सोमबार देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। देशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागले जनाएको छ। त्यस्तै, लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

यसैबीच, बंगालको खाडीमा विकसित चक्रवाती आँधी ‘मुरासु’ बारे विभागले विशेष मौसमी बुलेटिन जारी गरेको छ। उक्त मौसम प्रणालीका कारण नेपालमा उल्लेखनीय प्रभाव पर्ने सम्भावना नरहेको विभागले जनाएको छ।
मौसमसम्बन्धी मोडल तथा भू–उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणअनुसार आइतबार बिहान ११स्४५ बजे दक्षिणपश्चिम बंगालको खाडी तथा आसपासको मध्यपश्चिम बंगालको खाडीमा चक्रवाती आँधी ‘मुरासु’ विकसित भएको हो।
सोमबार उक्त प्रणाली मध्यपश्चिम बंगालको खाडीमा थप शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना रहेको जनाइएको छ। यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै कात्तिक १७ गते भारतको आन्ध्र प्रदेशको दक्षिणी तटीय क्षेत्रअन्तर्गत नेल्लोर र नरसापुरबीचबाट जमिनमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ।
चक्रवाती आँधीका कारण भारतको तटीय क्षेत्रमा मौसम प्रभावित हुन सक्ने भए पनि नेपालमा भने यसको उल्लेखनीय असर पर्ने सम्भावना नरहेको विभागको आकलन छ।



