झापा, १८ कात्तिक । झापाको सदरमुकाम भद्रपुरमा पहिलो पटक आयोजना गरिएको प्रथम अन्तर्राष्ट्रिय नकआउट फाइभ एस हक्की प्रतियोगिता २०८३ मा सहभागी भारतीय खेलाडी तथा निर्णायकहरूलाई झापा र इलामका विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गराइएको छ।
प्रतियोगिताको फाइनलसम्मको यात्रा तय गरेको भारतको आरके रोय अफ हक्की एकेडेमीका खेलाडी तथा प्रतियोगिताका अम्पायर र निर्णायकहरूलाई पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराइएको भद्रपुर नगर हक्की संघका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।

कोशी प्रदेशको आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले बाह्य खेलाडीहरूलाई धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराइएको अध्यक्ष बस्नेतले बताए।
भ्रमणका क्रममा भारतीय खेलाडी तथा निर्णायकहरूलाई झापाको अर्जुनधारा जलेश्वरधाम, भद्रपुरस्थित चन्द्रगढी सामुदायिक वनभित्र रहेको चन्द्रगढी सिमसार क्षेत्र तथा इलामको हर्कटे र कन्यामको अवलोकन गराइएको थियो।
भ्रमणमा सहभागी भारतीय टोलीले यहाँका पर्यटकीय स्थलहरूको खुलेर प्रशंसा गरेको संघका महासचिव खगेन्द्र ढुंगानाले जानकारी दिए। उनीहरूले आफ्नो ठाउँमा फर्किएपछि अन्यलाई समेत यी क्षेत्रको भ्रमण गर्न सल्लाह दिने बताएका छन्।
भद्रपुर नगर हक्की संघको आयोजनामा कात्तिक १३, १४ र १५ गते भद्रपुर नगरपालिका–९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा भारतका तीन टोलीसहित विभिन्न नेपाली टोलीको सहभागिता रहेको थियो।
प्रतियोगितामा भारतको आरके रोय अफ हक्की एकेडेमीले फाइनलसम्मको यात्रा तय गरेको थियो। फाइनलमा आयोजक भद्रपुर नगर हक्की संघसँग ४–२ गोलअन्तरले पराजित हुँदै भारतीय टोली उपविजेतामा सीमित भएको थियो।
आयोजक संघले प्रतियोगितालाई खेलकुदमा मात्र सीमित नराखी गीत–संगीत र पर्यटनसँग समेत जोडेको थियो। सोही अवधारणाअनुसार फाइनलसम्म पुगेको भारतीय टोलीलाई पर्यटकीय स्थलको अवलोकन भ्रमण गराइएको प्रतियोगिताका प्रमुख सल्लाहकार अनिल ढुंगानाले जानकारी दिए।
यस किसिमका खेलकुद तथा पर्यटन जोडिएका कार्यक्रमले विदेशी खेलाडीमाझ झापा र इलामका पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुनुका साथै कोशी प्रदेशको आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।



