झापा, २८ कात्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ। बाँकी हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।

मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, आज राति हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।



