
झापा, २८ माघ । चीनमा रहेका नेपाली ल्याउन ३ फागुनमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ पठाइने भएको छ। एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको वुहान पठाउने तय भएको हो ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले नेपाली नागरिक उद्धार गर्न आवश्यक सबै प्रक्रिया थाल्न परराष्ट्र, स्वास्थ्य, पर्यटन र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । परराष्ट्रले नेपालस्थित चिनियाँ दूतावासमार्फत चीन सरकारलाई आगामी १५ फेब्रुअरी ९३ फागुन०मा आफ्ना नागरिक उद्धार गर्न चाहेको जानकारी गराएको छ ।
चीनस्थित नेपाली दूतावासलाई पनि परराष्ट्रले आवश्यक तयारी गर्न निर्देशन दिएको छ । पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई जहाज तयारी अवस्थामा राख्न निर्देशन दिइसकेको छ । ‘३ फागुनमा चीन जान तयार रहनू भनेर पर्यटन मन्त्रालयबाट निर्देशन आएको छ,’ निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्, ‘वुहानबाट ल्याउने एक सय ८० नेपालीको सूची निगमलाई आइसकेको छ ।’
तीन क्याप्टेन र तीन पाइलटसहितको क्रु टोलीसहितको जहाज चीन जानेछ । जहाजमा सेना र नेपाल प्रहरीका दुई चिकित्सक, दुई नर्ससहितको स्वास्थ्यकर्मीको टोली हुनेछ । उनीहरूको नाम गोप्य राखिएको छ । ‘क्रु तथा डाक्टर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तय गरेको पोसाक लगाएर त्यसतर्फ जानेछन्,’ प्रवक्ता खड्काले भनिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

