
एजेन्सी, १४ चैत । जंगली स्तनधारी जनावर शालकमा रहेको भाइरस र कोभिड १९ भाइरस मिल्दोजुल्दो रहेको पुष्टि भएको वीवीसीले आफ्नो खबरमा उल्लेख गरेको छ ।
अन्तर्राष्ट्रिय शोधकर्ताहरुले शालकमा पाइने भाइरस र संसारभर कहर मच्चाइरहेको कोरोनाभाइरस (कोभिड १९) मिल्दोजुल्दो रहेको पुष्टि भएको बताएका हुन् । नेचर जर्नलमा प्रकाशित रिपोर्टको हवला दिँदै बीबीसीले दक्षिणपूर्वी एशियामा पाइने शालकमा रहेको भाइरस र चीनको वुहानबाट फैलिएको कोरोना भाइरस मिल्दोजुल्दो रहेको बताएको छ ।
शालक संसारमा सबैभन्दा धेरै तस्करी हुने जंगली जनावर मध्ये एक हो । चीनमा शालकको छालाबाट पारम्पारिक औषधि बनाउने गरिन्छ । साथै शालक मासुका लागि पनि तस्करी हुने गरेको छ । तस्करीकै कारण हाल यो स्तपनपायी जनावर लोप हुने अवस्थामा पुगेको छ। नेपालबाटसमेत यसको चोरी निकासी हुने गरेको छ ।
शोधकर्ताहरुले भविष्यमा कोरोना भाइरसको जस्तै महामारी हुन नदिन यस्ता जंगली जनावरको विक्रिवितरणमा प्रतिबन्ध लगाउनुपर्ने र यी जनावरहरुको संरक्षणमा कडाई गर्नुपर्ने सुझाव दिएका छन् । कोरोना भाइरस मुलरुपमा चमेरोबाट फैलिएको मानिन्छ। शोधकर्ताहरुले शालकको जीनको पनि अध्ययन गरिएको जनाएका छन् । स्मरण रहोस शालक सबैभन्दा धेरै चीनमा तस्करी हुने गर्छ । र कोरोना भाइरस पनि चीनबाटै फैलिएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

