
झापा, १६ चैत । झापाको मेचीनगर नगरपालिकाले विदेशबाट फर्किएकाहरुको घरमा रातो रंगको संकेत लगाउने भएको छ ।
नगर क्षेत्रमा स्थायी बसोबास भएर भारतलगायत तेस्रोमुलुकबाट फर्किएकाको पहिचानका लागि नगरपालिकाले उनीहरुको पहिचानका लागि घरमा रातो रंगको संकेत लगाउने भएको हो ।
विदेशबाट फर्किएकाहरुमा मात्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखापरेकाले उनीहरुको पहिचान र संक्रमण फैलन नदिन नगरपालिका यस्तो अभियान शुरु गरेको नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।
रातो रंग लगाएपछि होम क्वारेन्टाइनको अनुगमन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गर्न सजिलो हुने उहाँले बताउनुभयो । गत फागुन २२ यता मेचीनगर नगरपालिकामा भारतलगायत तेस्रो मुलुकबाट १ सय ६४ जना फर्किएका छन् ।
सबैभन्दा बढी भारतबाट १ सय २३ जना, युएईबाट १९, कतारबाट ७, साउदी अरबाट ६, मलेसियाबाट ४, अमेरिकाबाट २ तथा इजरायल, बहराइन र कतारबाट १÷१ जना आएका छन् । थप तथ्याङ्क संकलन जारी रहेको नगरपालिकाले जनाएको छ ।
फर्किएकाहरुमध्ये कतिपय होम क्वारेन्टाइनमा त कतिलाई मेचीनगर नगरपालिकाले तयार गरेको वडानम्बर ७ को सतिघट्टास्थित माइती नेपालको भवन, ११ को घाइजनस्थित स्वास्थ्य चौकी वडा नम्बर ३ को वडाखालस्थित पशुपति माध्यमिक विद्यालय र वडा नम्बर ४ को बाहुनडाँगीस्थित सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको नगरपालिकाले जनाएको छ ।
त्यस्तै, नगरक्षेत्रमा रहेका ज्येष्ठ नागरिकको पनि नगरपालिकाले तथ्यांक संकलन शुरु गरेको छ । नगरप्रमुख बिमल आचार्यले ज्येष्ठ नागरिकको सुरक्षाका लागि नगरका १५ वटै वडामा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिकको विवरण संकलन थालिएको बताउनुभयो ।
नगरको वडा नं. १ मा ३४०, वडा नं. २ मा ३७५, वडा नं. ३ मा ३८८, वडा नं. ४ मा २९८, वडा नं. ५ मा २६७, वडा नं. ६ मा ६५६, वडा नं. ७ मा ४४८, वडा नं. ८ मा २८५, वडा नं. ९ मा ४८४, वडा नं. १० मा ४६४, वडा नं. ११ मा २२१, वडा नं. १२ मा २९३, वडा नं. १३ मा २९३, वडा नं. १४ मा २८१ र वडा नं. १५ मा २५४ जना ज्येष्ठ नागरिक रहेको विवरण प्राप्त भएको नगर प्रमुख आचार्यले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

