
बिर्तामोड, १८ चैत । झापाको मेचीनगरमा विपन्न वर्गका नागरिकलाई राहत दिन ‘फुड बैंक’ स्थापना गरिएको छ ।
कोभिड–१९ का कारण देश ‘लक डाउन’ भएपछि दैनिक जीविकोपार्जन गर्न समस्या भएका विपन्न समुदायका नागरिकलाई लक्षित गरी ‘फुड बैङ्क’ स्थापना गरिएको हो । विनाशकारी महाभूकम्पका बेला संगठित भएको ‘मेची अभियान’ ले मेची उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष विजय डालमिया अभियानका संयोजकत्वमा फुड बैंक स्थापना गरेको हो ।
‘श्रमिक र ज्यालादारी मजदुरको घरमा खाद्यान्न अभाव छ, उनीहरुको घर–घरमै खाद्यान्न उपलब्ध गराउने फुड बैंक स्थापना गरेका हौँ’, संयोजक डालमियाले भन्नुभयो, ‘यहाँका सबै राजनीतिक दल र संघसंस्थाको सक्रियता फुड बैंक सञ्चालनमा आएको हो ।’
फुड बैंकले खाद्यान्न जुटाउने अभियान चलाइरहेको संयोजक डालमियाले बताउनुभयो । ‘महाभूकम्पको बेलाजस्तै हामी राहत संकलनमा खटिएका छौँ’, उहाँले भन्नुभयो ।
फुड बैंकमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले रू २५ हजार, मेचीनगर–६ का प्रशन्न संग्रौला र व्यवसायी सुरेश अग्रवालले रू २५÷२५ हजार सहयोग गर्नुभएको छ । त्यस्तै, डा. रुपेश रोशनले रू पाँच हजार र प्रहरी नायब निरीक्षक अनुप निरौलाले रू पाँच हजार पाँच सय सहयोग गरेको संयोजक डालमियाले जानकारी दिनुभयो । मेचीनगर नगरपालिकाले खाद्यान्नको मापदण्ड र गुणस्तर निर्धारण गरेपछि सोही अनुसार राहत वितरण हुने उहाँले बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

