
सन्तोष शर्मा
बिर्तामोड, १८ चैत । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन र विपन्नलाई राहत दिन झापाको कनकाई नगरपालिकाले रू ३० लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमण नेपालमा पनि देखिएकाले त्यसको रोकथाम, नियन्त्रण एवम् विपन्न परिवारलाई राहत दिन कोष स्थापना गरिएको नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । ‘कोषमा जम्मा भएको रकमबाट पीडितको औषधि उपचार तथा राहत सामग्री वितरण गर्नेछौँ’, नगरप्रमुख पोखरेलले भन्नुभयो, ‘कोषमा सहयोग गर्न चाहने संघसंस्था, व्यक्ति एवम् सबै सहयोगी हातहरुलाई अनुरोध गर्दछु ।’
चालू आर्थिक वर्षमा नगरपालिकाले विपद् व्यवस्थापनका लागि रू ५० लाख विनियोजन गरेको छ । सो रकममध्ये रू ३० लाख कोरोना कोषमा जम्मा गरिएको हो । कोषमा नगरपालिकाका जनप्रतिनिधिहरुले एक महिना बराबरको पारिश्रमिक र कर्मचारीले समेत रकम जम्मा गरेका छन् ।
‘जनप्रतिनिधिको पारिश्रमिक र कर्मचारीको गरी करिब पाँच लाख रुपैयाँ कोषमा थप जम्मा हुनेछ’, नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईंले भन्नुभयो, ‘विभिन्न व्यक्ति एवम् सामाजिक संघसंस्थाले पनि कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।’
कोरोना विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्न चाहनेले नगरपालिकाको नेपाल बैंक सुरुङ्गा शाखामा रहेको खात नं. १४७०३००००००००५००४००२ मा जम्मा गर्न सकिने नगरपालिकाले जनाएको छ । कोषको रकमको खर्च पारदर्शी बनाउन नगरपालिकाको वेव साइटमा सार्वजनिकीकरण गर्ने व्यवस्था मिलाइएको नगरप्रमुख पोखरेलले बताउनुभयो ।
लकडाउनको समय लम्बिएसँगै नगरमा रहेका विपन्न परिवार भोकभोकै रहनुपर्ने अवस्था आउन नदिन नगरपालिकाले भोलि÷पर्सीदेखि नै राहत प्याकेज ल्याउने भएको छ । ‘अहिले नै खान समस्या भएका परिवारलाई जनप्रतिनिधि र टोल समिति परिचालन गरेर राहत दिनेका भइरहेको छ’, नगरप्रमुख पोखरेलले भन्नुभयो, ‘सबैले समान रुपमा राहत पाउन् भनेर एकद्वार प्रणालीबाट राहत वितरण गर्न लागिएको छ ।’
एकद्वार प्रणालीबाट नगरपालिकाबाटै राहत वितरण गरिने भएकाले आफूखुसी राहत नबाँढ्न नगरपालिकाले सबैलाई अनुरोध गरेको छ । सहयोग गर्न चाहनेले नगरपालिकामा सम्पर्क गरेर राहत उपलब्ध गराउन र समस्यामा परेका परिवारलाई नगरपालिकामार्फत् वितरण गर्न अनुरोध गरेको हो ।

सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना गर्न नगरपालिकाले नगरबासीमा अनुरोध गरेको छ । ‘नगरपालिकाले कसैलाई पनि भोकभोकै बस्नुपर्ने अवस्था आउन दिँदैन’, नगरप्रमुख पोखरेलले भन्नुभयो, ‘सबैले लकडाउनको पूर्ण पालना गरौँ ।’
४० बेडको क्वारेन्टाइन
कोभिड–१९ को संक्रमण हुन नदिन नगरपालिकाले ४० बेडको क्वारेन्टाइन निर्माण गरेको छ । शंकास्पद बिरामीलाई राख्नका लागि खाने÷बस्नेदेखि इन्टरनेट (वाइफाइ) सहितको सुविधासहितको क्वारेन्टाइन निर्माण गरिएको नगरपालिकाका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत पिताम्बर गौतमले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा चाहिने आवश्यक खाद्यान्न सहयोग सहारा नेपाल साकोसले गरिरहेको छ । नगरपालिकाले नगरप्रमुख संयोजकत्वमा विपद् व्यवस्थापन समिति र कार्यविधि समेत बनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

