
झापा, २२ चैत । नेपालमा एकैपटक तीन जना कोरोना संक्रमित फेला परेका छन् । एक जनालाई पहिलोपल्ट नेपालभित्रै संक्रमित भएको समेत पाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीका ३४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको मन्त्रालयले जनाएको छ । योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो सवा ४ बजे हुने पत्रकार सम्मेलन अगावै सामाजिक सञ्जालमार्फत कोरोना संक्रमितको विवरण सार्वजनिक गरेको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको अवस्था
परीक्षण गरिएको – १३५६
संक्रमण नदेखिएको – १३४७
आइसोलेसनमा – ८
संक्रमण देखिएको – ९
निको भएको – १
मृत्यु भएको – छैन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

