
विराटनगर, २३ चैत । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा प्रदेश नं. १ का प्रमुख राजनीतिक दल एकठाउँमा उभिँदै चार बुँदे निर्णय गरेका छन् । आइतबार विराटनगरमा बसेको राजनीतिक दलको बैठकले लकडाउनको पूर्ण पालना गर्न प्रदेशबासीलाई आह्वानसहितको चार बुँदे निर्णय गरेका हुन् ।
लकडाउनबाट उत्पन्न परिस्थितिबारे प्रदेश सरकारलाई आग्रह गर्दै नागरिकमा आह्वान गर्नुपर्ने भएकाले बैठक बसेको राजनीतिक दलहरुले जनाएका छन् । चार बुँदे निर्णयमा सरकारी अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालबाट प्राप्त हुने स्वास्थ्य सेवालाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको छ ।
यस्तै, अस्पतालहरुलाई पनि सर्वसाधारण जनताको उपचारका निम्ति सञ्चालन गर्न अनुरोध गर्ने, लकडाउनका कारण उत्पन्न हुन सक्ने अत्यावश्यक खाद्यान्न सामग्री, तरकारी, खाना पकाउने इन्धनलगायत सामग्रीको उपलब्धता र निम्न आय भएका, आधारभूत जनता र लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरणमा एकरुपता कायम गर्न स्थानीय प्रशासन, स्थानीय तह (वडा स्तरसम्म) नेतृत्वमा राजनीतिक संयन्त्रमार्फत राहत वितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

त्यसैगरी, कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोक्न सरकारले हाल लगाएको लकडाउनमा समेत केही मानिसहरु साँझको समय बिनाउद्देश्य हिँड्डुल गर्ने तथा लकडाउन उल्लंघन गरेको पाइएकोले लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन सरकारलाई अनुरोध गर्ने र प्रदेशबासी जनतालाई सबै राजनीतिक दलहरुले अपिल गर्ने निर्णय गरेका छन् ।
प्रदेशस्तर, जिल्लास्तर र स्थानीय तहमा सञ्चालित क्वारेन्टाइन, आइसोलेटेड अस्पतालहरु, कोरोना विशेष अस्पतालहरुमा भएका काम कारबाहीको नियमित अनुगमनका लागि प्रदेश सरकारले व्यवस्थापन गर्ने त्यस्तो अुनगमनबाट प्राप्त सूचनाहरुको विश्लेषण गरी सरकारलाई पृष्ठपोषण गर्ने दलको निर्णय छ ।
बैठकपछि दलको तर्फबाट नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, डिग बहादुर लिम्बू सभापति नेपाली कांग्रेस मोरङ र राजीव कोइराला प्रमुख विपक्षी कांग्रेस, राप्रपाका प्रदेश अध्यक्ष राम थापा, अशोक चेम्जोङ महासचिव संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राजकुमार यादव उपाध्यक्ष समाजवाद िपार्टी प्रदेश उपाध्यक्षले संयुक्त हस्ताक्षर गरी विज्ञप्ती जारी गर्नु भएको हो । राजनीतिक दल शनिबार बैठक बसी चार बुँदे निर्णय गरेका हुन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

