
झापा, ६ बैशाख । पाँचदलीय गठबन्धनले ६ वटै महानगरपालिकाको उपप्रमुख टुंगो लगाएको छ।
मंगलबार बसेको शीर्ष नेतासहितको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति बैठकले ६ वटै महानगरपालिकाको उपप्रमुखको टुंगो लगाएको हो।
सहमति अनुसार नेपाली कांग्रेसले बीरगञ्ज, चितवनको भरतपुर र पोखरा महागरपालिकाको उपप्रमुख पाएको छ।
यस्तै, माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपप्रमुख पाएको छ। नेकपा (एकीकृत समाजवादी) ले काठमाडौं र जनता समाजवादी पार्टी (जसपा)ले विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ ।
मंगलबार बसेको बैठकले पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिने सहमति गरेपछि उपप्रमुखको पनि टुंगो लागेको हो ।
सोमबार बसेको गठबन्धनसहितको शीर्ष नेताहरुको बैठकले भरतपुर माओवादी केन्द्रलाई, ललितपुर, काठमाडौं र विराटनगर कांग्रेसलाई र वीरगञ्ज महानगर जसपालाई दिने सहमति गरेको थियो। पोखरामा कांग्रेस र एकीकृत समाजवादीको दाबी भएपनि अन्तिममा कांग्रेस उपप्रमुख लिएर पछि हटेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



