
बिर्तामोड, ९ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाको बिर्तामोड नगरपालिका–८ नम्बर वडाको वडाध्यक्षका लागि कांग्रेसका ऊर्जाशील युवा चिरञ्जीवी कार्कीले उम्मेदवारी घोषणा गरेका छन् ।
आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । वडाको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको कार्कीले बताउनुभयो । ‘जिते भने एक रुपैयाँ पनि भ्रष्टाचार गर्दिनँ, गर्न दिन्न’, उहाँले भन्नुभयो, ‘कुनै सेवा सुविधा नलिई जनताको सेवा गर्छु ।’
आफूले जिते हरेक विकास निर्माणमा स्थानीयबासीको सहभागितालाई प्राथमिकतामा राख्ने कार्कीको उद्घोष गर्नुभयो । ‘स्वदेशमै केही गर्छु भनेर अमेरिकाको बसाइँलाई थाँती राखेर नेपाल आएको हुँ’, लामो समय राजनीतिमा सक्रिय भएको बताउँदै उहाँले भन्नुभयो, ‘व्यवसाय गर्ने क्रममा ऋण लाग्यो त्यही तिर्न विदेश गएको थिएँ, तर त्यहाँ रहँदा पनि यहाँको सामाजिक कार्यमा मेरो कमाईको झण्डै २० प्रतिशत रकम खर्च गर्ने गरेको थिएँ ।’ अहिले पनि आफू सामाजिक कार्यमा उत्तिकै सक्रिय भएर लागेको कार्कीको भनाइ छ ।
कार्कीकै शब्द जस्ताकोतस्तै –
२०४६ सालमा झापाको गरामनीबाट राजनीतिमा प्रवेश गरी क्रियाशिल हुँदै आएको यहाँहरु माझ जानकारी गराउन चाहन्छु । आफ्नै देशमा केही गर्नुपर्छ, आफ्नो ठाउँ आफैँले बनाउनुपर्छ भन्ने सोचेर २०५४ सालमा गाई तथा कुखुरा पालन फर्म, खाद्यान्न, फर्निचर सम्बन्धी व्यवसाय सुरु गरी काम गर्न थालेको थिएँ । दुर्भाग्यवस देशमा द्वन्द्वको सुरुवात भएपछि देश लामो राजनीतिक अस्थिरता र द्वन्द्वमा फसेको यहाँहरु सबैलाई अवगतै छ । देश द्वन्द्वको चपेटामा परेपछि म जस्ता लाखौं युवाहरु विदेशिन बाध्य भए । द्वन्द्वका कारण आफूले गर्दै आएको व्यवसायमा २ करोड रुपैयाँभन्दा बढी डुबेपछि मैले पनि व्यवसाय बीचमै छोडेर २०६५ सालमा वैदेशिक रोजगारका लागि इजरायल जान बाध्य हुनुपर्यो । त्यहाँ केही समय काम गरिसकेपछि भिजिट भिसामा अमेरिका गई तीन वर्ष काम गरेपछि पुनः नेपाल फर्किए ।
नेपाल फर्किसकेपछि साथीभाइको माया, साथ सहयोग, हौसलाले गर्दा मैले हिजो लगानी गरेको पार्टी नेपाली कांग्रेस मा क्रियाशील हुँदै आएको छु । यसै सन्दर्भमा सरकारले आगामी बैशाख ३० गतेका लागि घोषणा गरेको स्थानिय तह निर्वाचनका लागि बितामोड नगरपालिका वडा नं. को वडा अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेको छु । लामो राजनीतिक इतिहास बोकेको र जनताको मन मनमा बस्न सफल नेपालको अग्रणी पार्टी नेपाली कांग्रेसको तर्फबाट वडाअध्यक्ष पदको उम्मेदवार भई जनताको सेवामा लाग्ने प्रण गर्न पाउँँदा गौरवान्वित महसुस गरेको छु । राजनीतिक यात्राका क्रममा मैले हालसम्म पार्टीका विभिन्नि जिम्मेवारीमा रही काम गरेको अनुभव हासिल गरेको छु ।
- मैले पाएका पदीय जिम्मेवारीहरुका बारेमा यसप्रकार छ–
- २०४६ सालमा झापाको गरामनीबाट नेपाली कांग्रेस पार्टीबाट राजनितिक यात्रा सुरु
- २०४९ मा नेपाल विद्यार्थी संघको तत्कालिन गरामनी गाविस उपसभापति
- २०५१ मा नेवि संघ कनकाई कलेज सभापति
- २०५९ मा मेची क्याम्पस स्ववियू उपसभापति
- २०५४ मा मेची क्याम्पस स्ववियू सचिव
- २०६० मा नेपाली कांग्रेस क्षेत्रीय सभापति
यसरी सक्रियतापूर्वक राजनीतिक यात्रामा सहयात्रा गर्नुहुने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शमा, गणेश पोखेल, उमा शिवाकोटी, नविन बिमली, मदन बुढाथोकी लगायत धेरै साथीहरु रहनुभएको छ ।
उहाँहरुको साथ र सहयोगले विदेशमा रहँदा पनि चारतारे झण्डा मुनी रहेर उत्तिकै मात्रामा काम गरिरहेको अवगत गराउन चाहन्छु । विदेशमा रहँदा बालबालिका, युवा, विद्यालय, गरिब–दुःखीहरुको सेवामा मैले कमाएकोमध्ये २० प्रतिशत रकम सामाजिक सेवाका लागि नेपाल पठाउने गरेको र सो रकम सही ठाउँमा सदुपयोग भएको पनि जानकारी गराउन चाहन्छु ।
अब जनताको सेवाका निम्ति आफ्नै भूमिमा सेवा गर्न आएको बिर्तामोडबासी आमा, बुवा, दाजुभाइ, दिदीबहिनीहरुमा जानकारी गराउँदछु । आगामी स्थानीय तह निर्वाचनमा बितामोड वडा नम्बर ८ बाट वडाध्यक्षको उम्मेदवार मलाई तपाईंको अमूल्य मत दिई विजयी गराउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु । वडाबासी आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई आफ्नो अमूल्य मत प्रदान गरीदिनुहुन अनुरोध गर्दछु ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



