
भद्रपुर, १२ बैशाख । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीका इञ्चार्ज नरेश सञ्जेलसहित १८ जनाले आज पार्टी परित्याग गरेका छन् ।
स्थानीय तह निर्वाचनको मनोनय दर्ताको आज अन्तिम दिन उनीहरुले पार्टीमा योगदान गर्ने कार्यकर्तालाई पाखा लगाउँदै अवसरवादी, नव धनाड्य र आर्थिक अपचलन गर्नेहरुलाई टिकट दिएको आरोप लगाउँदै उनीहरुले पार्टी परित्या गरेका हुन् ।
भद्रपुरमा आज पत्रकार सम्मेलनको आयोगना गरी उनीहरुले आफूहरु साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरे । ‘हामीले पार्टी भित्र नीतिभन्दा व्यक्ति हावी भएको पायौं’, नगर इञ्चार्ज सञ्जेलले भने, ‘एउटै व्यक्तिलाई आधा दर्जन भन्दा बढी पद दिने र इमान्दार कार्यकर्तालाई पाखा लगाउने काम भइरहेको छ, त्यसको पूर्ण विरोध गर्दै हामीले पार्टी परित्यागको निर्णय गरेका हौँ ।’
पार्टी परित्याग गर्नेहरुमा प्रदेश सदस्य मिरा अधिकारी सञ्जेल, नगर इञ्चार्ज नरेश सञ्जेल, भारतसिंह राजंवशी, धिरेन राजवंशी, चन्द्रमणि गौतम, ज्ञानबहादुर पुरी, विष्णुबहादुर राई, गंगाप्रसाद सञ्जेल, कृष्ण तामाङ (सन्तोष), योगराज अधिकारी, शिवराज घिमिरे, लक्ष्मण जमरकट्टेल, अरविन्द्र अधिकारी, रुद्रप्रसाद निरौला, मोक्ष नन्दन निरौला, चन्द्रबहादुर तामाङ, रञ्जित राई र घनश्याम खनाल रहेका छन् ।
उनीहरुले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘उपल्लो नेतृत्वबाट समेत पटक–पटक भद्रपुरको समस्यालाई समाधान गर्नमा उदासिन रहेबाट पार्टीको नीति सही हुँदाहुँदै पनि गलत प्रवृत्तिका नेता र नेतृत्वका कारण आजैका मितिबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को साधारण सदस्य समेत नरहने र आजैका मितिबाट स्वतन्त्र वामपन्थी रहेको जानकारी गराउँदछौँ ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



