
भद्रपुर, १९ बैशाख । स्थानीय तह निर्वाचनका लागि भद्रपुरमा सहकार्य गरिरहेका दलहरूको गठबन्धनले १३ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
नेपालको पुरानो नगरपालिकाको ऐतिहासिक पहिचान बनाएको नगरको समृद्धिको खाका सहित नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी पार्टीको संयुक्त गठबन्धनले साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।
गठबन्धनका तर्फबाट प्रतिबद्धतापत्र मस्यौदा समितिका संयोजक माओवादी केन्द्रका नेता नरपति लिम्बूले पेस गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला तथा बालबालिका, पूर्वाधार विकास, आर्थिक नीति, सेवा प्रवाह तथा सुशासन, युवा तथा खेलकुद, साँस्कृतिक सम्पदा संरक्षण तथा पर्यटन प्रवद्र्धन, वातावरण व्यवस्थापन, विपद व्यवस्थापन, सुकुम्बासी समस्या हल तथा अव्यवस्थित बसोबास व्यवस्थापन शीर्षकमा विस्तृत विवरणसहित प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
नेपाली काँग्रेस झापा क्षेत्र नम्वर ३ का कार्यवाहक सभापति गीताप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समृद्ध भद्रपुर नगर बनाउन विस्तृत कार्ययोजनासहित आफूले नेतृत्व दावी गरेको भन्दै मेयरका उम्मेदवार गणेश पोखरेलले प्रशासनिक पारदर्शिताका लागि फजुल खर्च अन्त्य गरेर विकास निर्माणका लागि इमान्दार रहने बाचा गरेका छन् ।
उपमेयरका उम्मेदवार शिवकुमार राजभण्डारीले भद्रपुरको विकासका लागि स्मार्ट सेवा प्रवाहलाई प्राथमिकीकरण गर्दै नगरभित्र हुने गरेका भ्रष्टाचार तथा चुहावट रोकेर नगरबासीको जीवनस्तर उकास्न प्रतिबद्ध भएको बताएका छन् ।
कार्यक्रममा नेकपा समाजवादीका नेता तथा भद्रपुर नगरपालिकाका पूर्व प्रमुख पुष्पराज पोखरेल, साविक चन्द्रगढी गाविसका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, नेपाली काँग्रेसका पूर्व नगर सभापति राजेन्द्रकुमार घिमिरे, मोहन महर्जन, नेकपा माओवादी केन्द्रका नेता डिल्ली घिमिरे हिक्मत लगायतको उपस्थिति रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



