
बिर्तामोड, १९ बैशाख । नेकपा एमालेबाट बिर्तामोडको नगर प्रमुख पदको उम्मेदवार पवित्रा महतारा प्रसाईंले नगरभित्र निर्माण भएका सबै जेष्ट नागरिक भवन, चौतारीहरुमा फ्रि–वाइफाई र पुस्तकालयको व्यवस्था गर्ने बताउनु भएको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी प्रचार अभियानका क्रममा बिर्तामोड–२ मा आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै नगर प्रमुखको उम्मेदवार प्रसाईंले यस्तो बताउनु भएको हो । उहाँले भौतिक पूर्वाधार, सडक, स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, पर्यटन र खेलकुद क्षेत्रको थप विकासका लागि विभिन्न योजना रहेकाले यसलाई व्यवस्थित ढंगले अघि बढ्ने बताउनुभयो । उम्मेद्वार प्रसाईंले महिला उद्यमशीलता, युवा स्वरोजगार, नगरपालिका भित्र रिङ रोडको अवधारणा लगायतका दर्जनौं योजनाहरु रहेकाले फेरि पनि एमालेलाई जिताउन मतदातालाई आग्रह गर्नुभयो ।
आफूहरुले गरेका प्रतिबद्धता हुवहु कार्यान्वयन गर्ने उम्मेदवार प्रसाईंको प्रतिज्ञा छ । प्रसाईले सुकुम्वासी समस्या समाधानको लागि नेकपा एमालेको सरकारले आयोग गठन गरेर तथ्याङ्क संकलनको काम अघि बढाएको भएपनि परमादेश सरकार आएपछि खारेज गरिदिएको भन्दै दुख व्यक्त गर्नु भयो । बिर्तामोड नगरपालिकाले विगत पाँच वर्षको अवधिमा ५०६ वटा विपन्न आवास निर्माण गरेर हस्तान्तरण गरिसकीएको र बाँकी रहेकाहरुलाई अब व्यवस्थापन गर्ने बताउनु भयो ।
यस्तै कोणसभालाई सम्वोधन गर्दै नगर उपप्रमुख पदका उम्मेदवार नगेन्द्र प्रसाद संग्रौलाले प्रतिवद्वता पत्रमा सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको शिक्षा पुर्णरुपमा निशुल्क भनेर उल्लेख गरीएको र यसलाई कायान्वयन गर्ने बताउनु भयो । अवको ५ वर्ष भित्रमा १२५ किलोमिटर सडक कालो पत्रे गर्ने, बिर्तामोड र चारपानेमा सार्वजनिक शौचालय निर्माण गर्ने समेत उहाँले बताउनु भयो । उपप्रमुखको जिम्मेवारीमा रहने न्याय सम्पादनको काममा राजनीतिक आस्थाका आधारमा कसैलाई पनि अन्याय नगर्ने बताउनु भयो । उम्मेदवार संग्रौलाले बिर्तामोड नगरपालिका फेरि पनि कम्युष्टिहरुको लाल किल्ला हुनेमा विश्वस्त रहेको पनि बताउनु भयो ।
यस्तै वडा नम्बर २ का वडाध्यक्ष पदका उम्मेदवार किशोर पौडेलले आफ्नो वडामा उत्तरबाट आउने पानीको प्रमुख समस्या रहेकोले यसको व्यवस्थापनमा आफु जुट्ने बताउनु भयो । फोहोरमैला व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण लगायतका काम गर्न आफु प्रतिवद्व रहेको बताउँदै उहाँले सार्वजनिक जग्गाको पहिचान गरि बजार व्यवस्थापन गर्ने समेत बताउनु भयो ।
चुनाव प्रचार–प्रसार समितिका संयोजक राष्ट्रिय सभाका पुर्वसदस्य हरिचरण शिवाकोटीको नेतृत्वमा आज वडा नम्बर २ को बालुवाटार, चारपाने चोक, त्रिशुली चौक, कच्चुबारी, लालमाटी, चैतुबारी लगायतका क्षेत्रमा कोणसभाको आयोजना गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



