
भद्रपुर, २० बैशाख । झापाको जेठो नगरपालिका भद्रपुर यतिबेला स्थानीय तह निर्वाचनयम भएको छ । निर्वाचनमा सहभागी विभिन्न दलहरु मतदाता आकर्षित गर्न घरदैलोमा व्यस्त छन् । जनताको पीरमर्का, स्थानीय समस्या सुन्दै र त्यसको समाधान गर्ने बाचासहित उनीहरु मतदाता आकर्षण गर्न व्यस्त भएका हुन् ।
सदरमुकाम नगर भद्रपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धन चुनावी अभियानमा जुटेको छ । नगरका १० वटै वडाका ५२ जना उम्मेदवार अहिले घरदैलोमा व्यस्त छन् ।
कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेदवार गणेश पोखरेल र माओवादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार शिवकुमार राजभण्डारी हुन्् । लामोसमयदेखि राजनीतिमा सक्रिय यी दुई युवाप्रति जनताको अपेक्षा चुलिँदै गएको छ । अविकासको छायाँ परेको भद्रपुरमा यी दुई युवाको आगमनले विकासको उज्यालो आउने स्वयम् मतदाता बताउँछन् ।
उनीहरु मतदाताको पहिलो रोजाइँमा रहेको चर्चा चौतर्फी छ । ‘विधि र पद्धति अनुसार चल्ने र भद्रपुरमा विकासको मुल फुटाउन सक्ने क्षमता उनीहरुमा छ’, एक मतदाता भन्छन्, ‘त्यसैले नगरमा उनीहरुको चर्चा चौतर्फी चल्न थालेको छ ।’
गठबन्धनमा कांग्रेसको नगर प्रमुख, ७ वटा वडाध्यक्षसहित ३१ जना उम्मेदवार, माओवादी केन्द्रको उप्रप्रमुख ३ वडाध्यक्षसहित १८ जना उम्मेदवार र एकीकृत समाजवादीको ४ जना उम्मेदवार भद्रपुरको घर–घर र टोल–टोलमा चुनावी अभियान सञ्चालन गरिरहेका छन् ।

गठबन्धनका तर्फबाट भद्रपुरमा ‘शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा र भौतिक पूर्वाधार ः समृद्धिको आधार’ नारासहित १३ वटा मुख्य बुँदामा प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ ।

गठबन्धनले सार्वजनिक गरेको प्रतिबद्धतामा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला तथा बालबालिका, पूर्वाधार विकास, आर्थिक नीति, सेवा प्रवाह तथा सुशासन, युवा तथा खेलकुद, सांस्कृति सम्पदा संरक्षण तथा प्रवर्धन, वातावरण व्यवस्थापन, विपद् व्यवस्थापन र सुकुम्बासी समस्या तथा अव्यवस्थित बसोबास मुख्य विषय छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



