
भद्रपुर, २१ बैशाख । आसन्न स्थानीय तह निर्वाचन–२०७९ का लागि झापाको भद्रपुर नगरपालिका वडा नं. ७ मा गठबन्धनका उम्मेदावार मतदाताको घरदैलोमा व्यस्त छ ।
जनगुनासो सुन्दै र त्यसको सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै उनीहरु घरदैलोमा व्यस्त भएका हुन् । भद्रपुर–७ मा गठबन्धनका तर्फबाट वडाध्यक्षमा पुष्पलाल राजवंशी, महिला सदस्यमा सविता मैनाली, सदस्यमा महेन्द्र पोखरेल, सन्तोष घिमिरे र दलित महिला सदस्यमा बुधमाया बिक उम्मेदवार छन् ।
विगत चार दिनदेखि निरन्तर वडाबासीको घरदैलोमा गएर समस्या सुन्ने र त्यसको समाधान गर्ने प्रतिबद्धता जनाउँदै आएको वडाध्यक्षका उम्मेदवार राजवंशीले बताउनुभयो । ‘हामी वडाबासीको घरघरमा गइरहेका छौँ’, उहाँले भन्नुभयो, ‘मतदाताले बाटो–नाला नबनेको, नागरिकता नभएको लगायतका धेरै गुनासा गरिरहेका छन्, अघिल्ला जनप्रतिनिधिले अपेक्षाकृत काम नगरेको गुनासो पनि व्यापक छ ।’
गठबन्धनका तर्फबाट वडा नं. ७ को उम्मेदवारहरुले वडाको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, युवा स्वरोजगार लगायतका विषयमा उल्लेख्य काम गर्ने प्रतिबद्धता जनाइरहेका छन् । बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म घरदैलो अभियान सञ्चालन भइरहेको वडा सदस्यका उम्मेदवार महेन्द्र पोखरेलले बताउनुभयो ।
आज भएको घरदैलो अभियान बिहान गार्मेन्ट चोक–सरस्वती चोक–सगरमाथा चोक लगायतका स्थानमा सञ्चालन गरिएको थियो । गठबन्धनका पक्षमा जनताको आशा, अपेक्षा र आकर्षण बढ्दै गएको उम्मेदवारहरुको भनाइ छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



