
भद्रपुर, २२ बैशाख । आसन्न स्थानीय तह निर्वाचन–२०७९ का लागि भद्रपुर वडा नं. ४ का गठबन्धनका उम्मेदवारले घरदैलो अभियान सम्पन्न गरेका छन् ।
एक साता अघिदेखि सञ्चालित अभियान बुधबार सम्पन्न भएको हो । वडाध्यक्ष उम्मेदवार हंशधर राजवंशीले घरदैलो अभियान सम्पन्न गरी आज समीक्षासहित नयाँ रणनीति तयार गरिएको जानकारी दिनुभयो । वडामा १४ वटा टोल समिति गठन गरेर २८ वटा टोली मतदाता शिक्षाका लागि सञ्चालन गर्न लागिएको छ । मतदाता शिक्षा अभियान तीन दिनसम्म सञ्चालन हुनेछ ।

भद्रपुर–४ का गठबन्धनका उम्मेदवार शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधारसँगै किसानको जीवनस्तर उकास्ने, वडामा सीपमूलक तालिम सञ्चालन गर्ने, स्वरोजगार बनाउने लगायतका नीति–योजनाका साथ अघि बढिरहेका छन् ।
जनताको अपेक्षालाई बुझेर त्यसलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको उहाँले बताउनुभयो । ‘जनताको अपेक्षा, समस्या बुझेका छौँ’, उहाँले भन्नुभयो, ‘मतदाताले हामीलाई विश्वास गर्ने आधारहरु अझ मजबुद हुँदै गएको छ ।’
एक कार्यकाल वडाध्यक्षको जिम्मेवारी सम्हालिसक्नु भएका वडाध्यक्षका उम्मेदवार राजवंशीले मतदाताले आफूहरुलाई राम्रो रेस्पोन्स गरेको बताउँदै भन्नुभयो, ‘विकासका कुरामा मतदाताको आवश्यकता महसुस गरेका छौँ ।’
गठबन्धनमा वडाध्यक्ष राजवंशी, वडा सदस्य हस्तकला बेघा, दिलिपकुमार लिम्बू, महिला सदस्य सविता पुरी र दलित महिला सदस्य चन्द्रकला विश्वकर्मा रहनुभएको छ ।
आदिबासी–जनजातिको बाहुल्य रहेको भद्रपुर–४ मा ४ हजार ९५२ मतदाता रहेका छन् । वडाध्यक्षका उम्मेदवार राजवंशीले अघिल्लो स्थानीय तह निर्वाचनमा ९०९ मत ल्याएर जित्नुभएको थियो भने निकतम् प्रतिद्वन्दीसँग २४१ मत अन्तर रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



