
बिर्तामोड, २७ बैशाख । नेकपा एमाले बिर्तामोड नगरकमिटी अध्यक्ष सुवास भट्टराईले बिर्तामोड नगरपालिकालाई सुखी बिर्तामोड, समृद्ध बिर्तामोड बनाउने बताउनु भएको छ ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट निर्वाचित एमाले नेतृत्वको स्थानीय सरकारले नगरलाई सुखी र समृद्ध बनाउनका काम गर्ने बताउनु भयो । अध्यक्ष भट्टराईले नगरको सानो बजेट हुने भएपनि १० वटै वडामा समानन्तर तरिकाले वितरण गरेर काम अघि बढाइने बताउनु भयो । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले जनताको शुसासनका लागि काम गर्ने बताउँदै उहाँले फेरि एक पटक सूर्य चिन्हमा मतदान गर्न सबैसंग आग्रह गर्नु भयो ।
अध्यक्ष भट्टराईले अवको ५ वर्षमा एमाले नेतृत्वको सरकारले गरिब, सुकुम्बासी, सिमान्तकृत, कृषक, युवा, विद्यार्थी लगायतका सबै क्षेत्रमा महत्वपूर्ण काम गरेर देखाउने बताउनुभयो । उहाँले नगरप्रमुख पवित्रा महतारा प्रसाई नेतृत्वको सरकारले अबको ५० वर्षसम्ममा बिर्तामोडको आर्थिक समृद्धि, उद्योग कलकारखाना, व्यापार व्यवसाय, कृषि लगायतका क्षेत्र कस्तो हुने भन्ने बारेमा बाहिरबाट एक्सपर्ट ल्याएर भए पनि यहाँ भएका उद्यमशीलताहरुलाई योजनाबद्ध तरिकाले अघि बढाउने बताउनु भयो । अवको ५ वर्षपछि मत माग्न जाँदा एमाले नै विकास गर्ने पार्टी रहेछ भन्ने जनतालाई प्रमाणित गरेर देखाउने पनि उहाँले बताउनु भयो ।
नेकपा एमाले नेतृत्वको सरकारले यस अघि पनि भौतिक पुर्वाधार,शिक्षा,स्वास्थ्य,कृषिको क्षेत्रमा धेरै काम गरेको बताउँदै अध्यक्ष भट्टराईले एमालेमात्रै देशको विकास प्रेमी पार्टी रहेको बताउनु भयो । अव निर्वाचित एमाले सरकारले यस अघिका अधुरा कामहरुलाई पुरा गर्ने र घोषणा पत्रमा समावेस गरीएका विषयहरुलाई प्रतिवद्वताका साथ कार्यान्वयन गरिने पनि बताउनु भयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



