
बिर्तामोड, २७ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले बिर्तामोडले चुनावी प्रचार अभियान अन्तर्गतका कार्यक्रमहरुलाई अघि बढाइरहेको छ ।
एमालेबाट बिर्तामोड नगरपालिकाको नगरप्रमखको उम्मेदवार पवित्रा महतारा प्रसाई, उपप्रमखका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला सहित उम्मेदवारहरुको टोलीले आज सोमबार वडा नम्बर ९ का विभिन्न स्थानमा पुगेर कोणसभा सम्पन्न गरेको हो । उम्मेदवारहरुले वडा नम्बर ९का टाँगाबारी, कञ्चन टोल, लखिबाडी, सतालसिंवाडी, केरकेरुवाडी, नारायणकृष्ण टोल, पिपल चोक र नडियाबाडीमा पुगेर सूर्य चिन्हमा मतदानका लागि आग्रह गर्दै आफ्नो पार्टीले अघि सारेका योजनाका बारेमा प्रतिवद्वता व्यक्त गरेका छन् ।
नगरप्रमुखको उम्मेदवार प्रसाईले सबै जातजाती, वर्ग, समुदाय, भाषाभाषीलाई समेटेर काम गर्ने पार्टी नेकपा एमाले रहेको धारणा राख्नु भयो । उहाँले भोलीका दिनमा स्वास्थ्य र शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउने पनि बताउनु भयो । उम्मेदवार प्रसाईले बिर्तामोड नगरभित्रका पुराना संस्कार,संस्कृति,इतिहास बोकेका सम्पदाहरुको विकास गर्दै पर्यटनसंग जोडेर अघि बढ्ने बताउनु भयो । उद्यमशिलता र महिलाहरुको सिप विकासलाई अझै अघि बढाउने बताउँदै उहाँले विकास निर्माणसंगै रोजगारी सिर्जनाको कुरामा ध्यान दिने बताउनु भयो ।
यस्तै उपप्रमुख पदका उम्मेदवार नगेन्द्रप्रसाद संग्रौलाले नेकपा एमालेको सरकारले जनप्रिय कामहरु गरेको बताउनु भयो । उहाँले विगतका अधुरा कामहरुलाई अघि सार्दै नयाँ योजना अघि बढाउने बताउनु भयो । उहाँले वडा नम्बर ९मा ५ वर्षभित्रमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने बताउनु भयो । यस्तै कोलटोली विराटपोखर मार्ग र सहिद वृजुलाल मार्गलाई स्तरीय ग्राभेल गर्ने प्रतिद्वता जनाउनु भयो ।
बिर्तामोडको वडाध्यक्षमा हरिप्रसाद चौलागाई,खुल्ला महिला सदस्यमा कल्पना राजवंशी,दलित महिलामा संगीता सिवा,सदस्यमा केशव बुढाथोकी र चन्द्रप्रसाद दंगाल उम्मेदवार रहनु भएको छ । राष्ट्रिय सभाका पूर्व सदस्य तथा नेकपा एमाले चुनाव प्रचारप्रसार समिति बिर्तामोडका संयोजक हरिचरण शिवाकोटीको संयोजकत्वमा सञ्चालित चुनावी अभियानको सोमबारको कोणसभामा नेकपा एमाले प्रदेश १ कमिटीका सचिव चिन्तन पाठक, प्रदेश सांसद एकराज कार्की लगायतले सम्बोधन गर्नु भएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



