
बिर्तामोड, २७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले कार्यकर्तालाई विशेष निर्देशन गर्दै गठबन्धन दलका पक्षमा मतदान गर्न आह्वान गरेको छ ।
नेकपा माओवादी केन्द्रका झापा इन्चार्ज राजु आचार्य अग्नि र सचिव मोहन टुडु (सरोज)द्वारा हस्ताक्षरित विशेष निर्देशन पत्रमार्फत गठबन्धन दलबाहेकका बागी, विद्रोही उम्मेद्वारको पक्षमा नलाग्न निर्देशन गरिएको हो ।
नेपाली जनताको निरन्तरको संघर्ष, शहीदहरुको बलिदान, हजारौं नेता÷कार्यकर्ताको त्याग र समर्पणबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, राष्ट्र र जनताको रक्षाका लागि प्रतिगमन विरुद्ध संघर्षरत दलहरुबीच गठबन्धन भएको उल्लेख गर्दै विशेष निर्देशन पत्रमा गठबन्धन दलहरु बीचमा अधिकतम स्थानीय तहहरुमा चुनावी तालमेल भएको र तालमेल नभएका स्थानहरुमा स्वस्थ र मित्रवत प्रतिष्पर्धा गर्ने गठबन्धन दलको कार्यदल र जिल्ला संयन्त्रमा भद्र सहमति भएको उल्लेख गरिएको छ ।
‘झापाका सबै स्थानीय तहहरुमा गठबन्धन दलका आधिकारिक उम्मेद्वारहरुलाई विजयी गराउन र कुनै पनि बागी, विद्रोही उम्मेद्वारको पक्षमा नलाग्न नेकपा माओवादी केन्द्रका सबै नेता कार्यकर्ता कमरेडहरुमा विशेष निर्देशन गर्दछौं ’– विशेष निर्देशनमा भनिएको छ ।
गठबन्धन दलबीच ११ वटा पालिका र ती पालिकाका ९९ वडामा सहमतिमा साझा उम्मेद्वार उठाउने सहमति भएको छ भने झापा गाउँपालिका, हल्दिबारी गाउँपालिका, कनकाई नगरपालिका र कचनकबल गाउँपालिकामा मित्रवत् प्रतिष्पर्धा गर्ने भद्र सहमति भएको छ । यी पालिकाबाहेकका २ वटा वडामा पनि मित्रवत् प्रतिष्पर्धा गर्ने सहमति भएको कार्यदलका संयोजक कृष्ण हुमागाईले बताउनुभयो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



