
भद्रपुर, ४ बैशाख । गठबन्धनका उम्मेदवारलाई पछि पार्दै बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेकपा (एमाले) ले जितेको छ ।
गाउँपालिकाको अध्यक्षमा एमालेका देवीन्द्र प्रसाद चम्लागाई (देवेन्द्र) र उपाध्यक्षमा एमालेकी शान्ता देवी सिवाकोटी निर्वाचित भएका छन् । माओवादी केन्द्रसँग चुनावी तालमेल गरेका काँग्रेसले अध्यक्षमा खड्गप्रसाद राजवंशीलाई उम्मेदवार बनाए ।
निकटतम प्रतिस्पर्धी राजवंशीलाई २७८७ मतान्तरले पराजित गर्दै गाउँपालिकाका अध्यक्षमा एमालेका चम्लागाई निर्वाचित भएका हुन् । राजवंशी निवर्तमान गाउँपालिकाका अध्यक्ष हुन् । चम्लागाईले ७ हजार १४८ मत ल्याउँदा राजवंशी ४ हजार ३६१ मत मात्र ल्याएका छन् ।
त्यस्तै गाउँपालिका अध्यक्षका उम्मेदवार राप्रपाका रामकुमार सिंह राजवंशी ४०६८, जनता समाजवादी पार्टीका रङलाल राजवंशी ११४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेम बहादुर लिम्बु ८७, मौलिक जरोकिलो पार्टीका श्याम प्रसाद उप्रेती ५०, जनमत पार्टीका आसिनलाल राजवंशी ३८, स्वतन्त्र दल बहादुर थापा २४ र उन्नत लोकतन्त्र पार्टीका उमा देवी विश्वकर्मा २१ मत ल्याएका छन् ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकी सिवाकोटीले ६६३६ मत ल्याएर निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी राप्रपाका कमला राजवंशीलाई २४४१ मतान्तरले पराजित गरेका हुन् । राजवंशीले ४१९५ मत ल्याएकी छिन् । उपाध्यक्ष उम्मेदवार माओवादी केन्द्रका शङ्कर प्रसाद सेडाई २७५७, स्वतन्त्र लक्ष्मी तिवारी ८० र जनमत पार्टीका तारा कुमारी राजवंशी ५९ मत ल्याएका छन् ।
वडाध्यक्षतर्फ वडा नम्बर १ मा काँग्रेसका टेक बहादुर सिंह राजवंशी, वडा २ मा काँग्रेसका भीम बहादुर कार्की , वडा ३ मा काँग्रेसका टङ्क प्रसाद साह , वडा ४ मा स्वतन्त्रका महताब आलम, वडा ५ मा राप्रपाका वीरबहादुर सिंह राजवंशी, वडा ६ मा एमालेका रत्न प्रकाश योङहाङ्ग र वडा ७ मा काँग्रेसका मित्रराज भट्टराई निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद काँग्रेसले जितेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



