
झापा, ५ जेठ । प्रदेश १ का ९ जिल्लाका सबै पालिकाको मत गणना सकिएको छ। १४ जिल्ला रहेको प्रदेश १ का ९ जिल्लामा ७३ वटा पालिका छन्।
मतगणना सकिएका ९ जिल्लामा सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। माओवादीले ३ वटा जिल्लामा प्रमुख जित्न सकेको छैन। ५ वटा जिल्लामा भने मतगणना भइरहेको छ।
९ जिल्लाका ४१ पालिका प्रमुखमा कांग्रेस विजयी भएको छ। एमालेले कांग्रेसले भन्दा आधा कम २० पालिका प्रमुख जितेको छ।
प्रदेस १ का ३ जिल्लाका कुनै पनि पालिका प्रमुख जित्न नसकेको माओवादीले गणना सकिएका जिल्लाका ९ पालिकामा प्रमुख जितेको छ। २ जना स्वतन्त्र उम्मेदवार विजयी हुँदा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एक सिट जितेको छ।
सोलुखुम्बुमा ८ वटा पालिका छन्। ती मध्ये ५ वटा पालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। एमालेले २ सिट जित्दा माओवादी केन्द्रले एक सिट जितेको छ।
ओखलढुंगामा ८ वटै पालिकाको मत गणना सम्पन्न भएको छ। ती मध्ये कांग्रेस चारवटा पालिका प्रमुखमा विजयी भएको छ। एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी एक एक पालिका प्रमुखमा विजयी हुँदा एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
खोटाङका पनि १० वटै पालिकाको मत गणना सम्पन्न भएको छ। जसमध्ये ६ वटा पालिका प्रमुखमा नेपाली कांग्रेस निर्वाचित भएको छ। एमाले र माओवादी २÷२ पालिका प्रमुखमा जित हात पारेका छन्।
गणना सकिएको भोजपुरमा एमाले तीन पालिका प्रमुखमा विजयी भएको छ। नेपाली कांग्रेसले पनि त्यति नै संख्यामा जित्दा २ पालिका प्रमुखमा माओवादी र एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
ताप्लेजुङमा पनि एमालेले ३ पालिका प्रमुख जितेको छ। नेपाली कांग्रेस ४ पालिकामा र माओवादी केन्द्र २ पालिका प्रमुखमा विजयी भएका छन्।
पाँचथरका ८ मध्ये ६ वटा पालिकामा नेपाली कांग्रेसले प्रमुख जितेको छ। माओवादी र एमाले १÷१ पालिकामा विजयी भएका छन्।
प्रदेश १ का तीन जिल्लामा भने २ पार्टी नेकपा एमाले र नेपाली कांग्रेस मात्रै विजयी भएका छन्।
संखुवासभाका १० पालिकामध्ये ६ वटामा नेपाली कांग्रेस र ४ वटामा नेकपा एमाले प्रमुखमा विजयी भएको छ। यहाँ माआोवादीले एक सिट पनि जित्न सकेन।
तेह्रथुमका ६ पालिका प्रमुखमा पनि नेपाली कांग्रेस र एमालेनै विजयी भएका छन्। यी दुई पार्टी जिल्लाका ३÷३ पालिका प्रमुखमा विजयी भएका हुन्।
यसअघि क्लिस्वीप गरेको धनकुटामा पनि एमालेले अधिकांस सिट गुमाएको छ। ७ पालिका रहेको धनकुटामा चार पालिका प्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ। ३ वटा पालिका प्रमुखमा एमाले विजयी भएको छ।
प्रदेश नं १ का उदयपुर, इलाम, झापा, मोरङ र सुनसरीमा भने मतगणना भइरहेको छ। त्यहाँका पनि अधिकांस पालिकाको मत गणना सकिए पनि केही पालिकाको मत गणना जारी छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



