
भद्रपुर, ५ बैशाख । नेकपा माओवादी केन्द्र भद्रपुर नगर कमिटीले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नगरमा विजयी जनप्रतिनिधिहरुलाई बधाई दिएको छ । सँगै पार्टीका तर्फबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारलाई सम्मानजन मत प्रदान गरेकोमा धन्यवाद दिएको छ ।
पार्टीका नगर अध्यक्ष तथा उपप्रमुख पदका उम्मेदवार शिवकुमार राजभण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘बैशाख ३० गते सम्पन्न भएको भद्रपुर नगरपालिकाको निर्वाचनमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) का हंशधर राजवंशीलाई वडा नं. ४ को वडाध्यक्षमा र सविता पुरीलाई वडा सदस्यमा वहाँहरुले वडामा अघिल्लो कार्यकालमा गर्नुभएको कामलाई उच्च मूल्यांकन गरी पुनः निर्वाचित गर्नु भएकोमा सम्मान प्रकट गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।’
पार्टीले नगरको उपप्रमुख तथा पार्टीबाट उम्मेदवार भएका सबै वडाध्यक्ष र वडासदस्यलाई सम्मानजनक मत दिई प्रत्यक्ष वा परोक्ष रुपमा सहयोग गरी उपविजेता बन्ने अवसर दिएको आभार प्रकट गरेको छ । ‘आफ्नो राजनीतिक स्तरको उपयोग गरी सामाज सेवा, नगर र नगरबासीको सेवामा निरन्तर लाग्ने प्रेरणा प्रदान गरिदिनु भएकोमा उच्च सम्मानका प्रकट गर्दछौँ’– विज्ञप्तिमा भनिएको छ ।
पार्टीले नगरबासी, गठबन्धनका शीर्षस्थ नेतृत्वगण, कार्यकर्ता, शुभचिन्तक, स्थानीय प्रशासन, सुरक्षाकर्मी, पत्रकार, निर्वाचन कर्मचारी, पार्टीका निर्देशनलाई अक्षरस पालना गरी इमान्दिरका साथ अहोरात्र खट्नु हुने सबै प्रति धन्यवाद दिएको छ ।
‘जो चुनिए पनि नगरका निम्ति नगरबासी नै चुनिने हो । त्यसकारण विजय हुनु भएका सबैबाट मैले सुखद अनुभूति नै प्राप्त गरेको छु’, उपविजेता राजभण्डारीले भन्नुभयो, ‘विजेता बन्नु भएका नगर प्रमुख नेपाली कांग्रेसका गणेश पोखेल, नगर उपप्रमुखमा राप्रपाकी राधा कार्कीसहित सबै वडा अध्यक्ष र वडा सदस्यलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।’

गणितीय जोड घटाउको चुनावी परिणाममा हार देखिए आफ्नो राजनीतिक, सामाजिकस्तर प्रयोग गरी सयौ बिरामी बचाउन, दैविक तथा प्राकृतिक प्रकोपमा सहयोगी बन्न, कोरोना महामारीमा सहयोग पुर्याउन, साना किसान सहकारीमा किसानका हित र रोजगारी सिर्जना गर्नमा सहयोग पुर्याउन, शैक्षिक सुधारका कार्य लगायतमा नगरबासी पर्याप्त माया र सहयोग पाएको उहाँले बताउनुभयो ।
‘साथ, सहयोग, माया र ममतालाई मेरो राजनीतिक जीवनको सफलताको रूपमा लिएको छु’, उहाँले भन्नुभयो, ‘सर्वसाधारणदेखि उच्च बौद्धिक व्यक्तित्वहरुबाट आफू ग्यारेन्टिबसी हामीलाई मत दिन मतदातालाई प्रेरित गर्नु भएका ऐतिहासिक क्षणहरु हाम्रा लागि सधैं मानव सेवामा लाग्ने प्रेरणाको स्रोतहरु हुनेछन्, आगामी दिनमा पनि सल्लाह, सुझाव, सहयोग लिई यहाँहरुकै काख र साथमा रही आफ्नो राजनीतिक, आर्थिक, सामाजिकस्तरको सदुपयोग गरी नगर र नगरबासीको सेवामा अझ बढी सक्रियताका साथ लागि रहने प्रण गर्दछौं ।’
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



