
दमक, ६ जेठ । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मेयर र उपमेयर दुबैमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
दमक वडा नं. ६ को करिब ४०० मत गणना हुन बाँकी रहँदा मेयर पदमा गठबन्धनबधाट उम्मेदवार बनेका राप्रपाका राम थापा ५३९ मतले अगाडि रहेकोले उनको विजय निश्चित भएको हो ।
थापाले १६९६१ मत प्राप्त गरेका छन् भने उनकी प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार गिता अधिकारीले १६४२२ मत प्राप्त गरेका छन् । अहिले गणना भइरहेको वडा मेयरका उम्मेदवार थापाकै घर भएको वडा भएकोले बाँकी ४०० मतमा पनि उनकै मत बढि आउने देखिएको छ । यद्यपी उक्त मत सबै अधिकारीले पाएको अवस्थामा पनि थापा विजयी हुने निश्चित रहेकोले अब निर्वाचन आयोगको औपचारिक घोषणा मात्र पर्खनुपर्ने अवस्था छ ।
यसैगरी दमकको उपमेयरमा पनि गठबन्धबाट उम्मेदवार बनेकी काँग्रेसकी रेगिना भट्टराई निर्वाचित हुने भएकी छन् । उनले १६४६ मत प्राप्त गरेर ३६७ मतले एमाले उम्मेदवार अम्बिका खनालमाथि अग्रता कायम राखेकी छन् ।
यसअघि एमाले अध्यक्ष ओलीको घर रहेको वडा नम्बर ५ बाट एमालेले धेरै मतान्तरले चुनाब जित्ने र त्यसकै बलमा बाजी मार्ने दावी गरेको थियो । तर, वडा नं. ७ बाट थापाले कायम राखेको मतान्तर पनि ५ नम्बर वडाबाट एमालेले तिर्न नसकेकोले थापाको जित निश्चित भएको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



